एक दिन पछि धकेलिए बाँके कांग्रेसका कार्यक्रम
Thursday, November 11th, 2021, 9:10 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २५ कात्तिक
नेपाली कांग्रेस बाँकेको निर्वाचन समितिको कार्यकक्षमा लगाइएको ताला खोलिएको छ । केन्द्रिय क्रियासिल सदस्यता छानबिन समिती सदस्य, केन्द्रिय निर्वाचन समितीका पदाधिकारी एवं सदस्यहरु र जिल्ला निर्वाचन अधिकृत सँगको संवाद र छलफलबाट २३९ फर्जी कृयासिल सदस्यता लाई वैधानिकता नदिने प्रतिबद्धता व्यक्त भए पछि ताला खोलिएको महाधिवेशन प्रतिनिधि पूणर् आचार्यले जानकारी दिए ।
क्षेत्र नम्बर १ का सभापति माधवराम खत्रीले महाधिवेशनको मुखमा आएर फर्जी क्रियाशील सदस्यहरुको नामावली केन्द्रमा पठाएको भन्दै अर्को पक्षले तालाबन्दी गरेको थियो । फेरि यस्तै अबैध क्रियाशील सदस्यता कहिँकतैबाट कुनै पनि बहानामा थपघट गर्ने गराउने काम भएमा सशक्त प्रतिकार गर्न बाध्य हुने आचार्यले चेतावनी दिए ।
तालाबन्दीका कारण महाधिवेशन अन्तर्गतका कार्यक्रम प्रभावित भएका छन् । यही कात्तिक २७ गते सम्पन्न हुने वडा तहको निर्वाचनको सम्पूण्र् तयारीको प्रक्रिया सुरु भइसकेको अवस्थामा तालाबन्दीपछि निर्वाचन कार्यक्रम प्रभावित भएका हुन् । अब बाँकेमा सबै तहका अधिवेशनहरु एक दिन पछि धकेलिएका छन् । जिल्ला निर्वाचन परिचालन समितिका सदस्य अर्जुन ओलीले महाधिवेशनका सबै कामहरु तालाबन्दीका कारण एकदिन पछि धकेलिएको जानकारी दिए ।
अब २७ गते हुने भनिएको वडा अधिवेशन २८ गते हुने छ । २७ गते अधिवेशनका लागि मनोनयन दर्ताको समय तोकिएको छ । कार्यतालिका अनुसार बाँकेमा ३० गते तोकिएको पालिका अधिवेशन मंसिर १ गते, मंसिर ३ गते तोकिएको प्रदेशसभा क्षेत्रीय अधिवेशन अब मंसिर ४ गते र मंसिर ६ गते तोकिएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन अब मंसिर ७ गते हुने छ । मंसिर १० गते हुने जिल्ला अधिवेशन अब ११ गते हुने भएको छ ।
जिल्ला निर्वाचन अधिकृत रेवतीरमण भट्टराईको अध्यक्षतामा भएको बैठकले कांग्रेसको वडा तहको निर्वाचन, निर्वाचन तालिका बमोजिम सम्पन्न गर्नका लागि आवश्यक पर्ने मतदान अधिकृत एवम् सहायक मतदान अधिकृतहरुको अभिमुखिकरण कार्यक्रम गते शुक्रबार गर्ने निणर्य गरेको छ ।