तीन देशका राजदूतहरु रारामा सँगै घुम्दै
Tuesday, November 16th, 2021, 4:27 pm
Kalpristha
कालपृष्ठ डेस्क
नेपालगन्ज, ३० कात्तिक
नेपालका लागि अमेरिका, बेलायत र अष्ट्रेलियाका राजदूतहरु राराको भ्रमणमा निस्किएका छन् । तीन दिन अघि रारा पुगेका उनीहरु छिनछिनमा रारा घुम्दाको तस्बिरहरु ट्विटरमार्फत सार्वजनिक गरिरहेका छन् ।

राजदूतहरु
राजदूत रारा घुम्न गएको कुराले सामाजिक सञ्जालमा चर्चा पनि पाइरहेको छ । काठमाडौंबाट नेपालगन्ज हुँदै गमगढी पुगेका अमेरिकी राजदूत र्याण्डी बेरी, अष्ट्रिलियाकी राजदूत फेलिसिटी भल्क र बेलायती राजदूत निकोला पोलिट अहिले पनि मुगुमै छन् ।
कात्तिक २८ गते राजदूत बेरी र भल्क गमगढी पुगेका थिए भने निकोला २९ गते पुगेकी हुन् । राजदूतहरूले रारा भ्रमणका फोटो पोष्ट गर्दा जलवायु परिवर्तन विषयलाई पनि समेटेका छन् ।

राजदूतहरु
‘म र मेरा साथीहरू यो यात्राका क्रममा फोहोर र प्लास्टिकको प्रयोग कम गर्न प्रतिवद्ध छौं । थोरै फोहोर उत्पादन गरे पुर्नु वा जलाउनु पर्ने फोहोर पनि कम हुन्छ। हाम्रा देशहरूले जलवायु परिवर्तनको असर कम गर्न नेपालसँग गरेको साझेदारीप्रति हामीलाई गर्व छ,’ राजदूत बेरीले एउटा ट्वीटमा लेखेका छन् । उनको अर्को ट्वीटमा नेपाल प्राकृतिक सम्पदाले सम्पन्न रहेको र कोप-२६ मा पेश गरेका महत्वाकांक्षी प्रतिवद्धताले नेपालले प्रकृतिमा आधारित समाधानमार्फत् नेतृत्वदायी भूमिका खेल्न सक्ने देखाउने उल्लेख छ ।

ट्वीट
अष्ट्रेलियाकी राजदूत भल्कले रारादेखि मुर्मा टपसम्म ट्रेक गएका तस्बिरहरू सार्वजनिक गरेकी छन् । रारा ताललाई पृष्ठभूमिमा राखेर खिचिएको भिडिओमा उनले नेपालको बनजंगल संरक्षणमा अष्ट्रेलियाले गर्दै आएको सहयोग जारी रहने लेखेकी छन् ।
बेलायती राजदूत पोलिटले मुगुका तस्बिरहरू सार्वजनिक गर्दै स्थानीय महिलाले खानेपानीको अभाव भएको, जंगलमा आगलागी भएको र शिक्षकको अभाव भएको अनुभव सुनाएको बताएकी छन् । रारामा तीन राजदूतहरू नेपाली सेनाको अतिथि गृहमा बसेका छन् ।

ट्वीट
मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार राजदूतको टोली बुधबार मुगुबाट फर्किने कार्यक्रम छ । मंगलबार उनीहरूले जलवायु परिवर्तनको असरका सम्बन्धमा मुगुका केही स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी र स्थानीयबासीसँग छलफल गरेका छन् ।

ट्वीट
महतका अनुसार पछिल्लो समय रारामा नेपाली पर्यटकको चहल-पहल बढ्दो छ । विदेशी भने आएका छैनन् । एक महिनाअघि दक्षिण कोरियाका राजदूत पार्क छोङ सुक रारा पुगेका थिए । कोरियाली अनुदानमा बनेको अस्पताल हस्तान्तरण गर्न गएका सुक त्यही मौकामा रारा पुगेका हुन् ।
तीन राजदूतको भ्रमण र सामाजिक सञ्जालमा उनीहरूले गरेको प्रचारले कोरोनाभाइरसले थलिएको राराको पर्यटन प्रर्वद्धनलाई थोरै भए पनि टेवा पुर्याउन पर्यटन व्यवसायीको अपेक्षा छ ।