कांग्रेस बाँकेको क्षेत्रीय अधिवेशनः यी हुन् सभापतिका आकांक्षी
Tuesday, November 23rd, 2021, 12:56 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ६ मंसिर
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत् बाँकेका प्रतिनिधिसभा क्षेत्रको निर्वाचन कार्यक्रम मंसिर ८ गतेबाट सुरु हुने भएका छन् ।
बाँकेको तीनवटै प्रतिनिधिसभा क्षेत्रमा ८ गते बिहान १० बजेबाट एकैसाथ मतदाता नामावली प्रकाशन, उम्मेदवारी मनोनयनलगायत निर्वाचन कार्यक्रम सुरु हुने जिल्ला निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराईले जानकारी दिए । उनका अनुसार उम्मेदवारी मनोनयनपश्चात् तीन वटै क्षेत्रमा मंसिर ९ गते मतदान कार्यक्रम सम्पन्न गरिनेछ ।
निर्वाचनमा खटाउनुअघि तीन वटै क्षेत्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अभिमुखीकरण गरिनेछ । प्रतिनिधिसभा क्षेत्रको निर्वाचनबाट क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि निर्वाचित हुने सहायक निर्वाचन अधिकृत एवम् अधिवक्ता चित्रबहादुर शाहीले जानकारी दिए ।
केन्द्रिय नेतृत्व चयनमा महत्वपूणर् भूमिका हुने भएकोले क्षेत्रीय सभापतिसँगै महाधिवेशन प्रतिनिधिमा पनि आंकाक्षा राख्नेहरु उत्तिकै छन् । आकांक्षीहरु मतदाता र नेताहरुलाई रिझाउन दौडधुप गरिरहेका छन् ।
को-को छन् सभापतिका आकांक्षी ?
तीन संघीय निर्वाचन क्षेत्र रहेको बाँकेमा निर्वाचन क्षेत्र नम्बर १ बाट संस्थापन (देउवा) पक्षका वर्तमान क्षेत्रीय सभापति माधवराम खत्री तेस्रो कार्यकालको लागि दाबेदार हुन् । क्षेत्र नम्बर १ मा संस्थापन इतर (कोइराला-पौडेल’ पक्षबाट नेपाल पत्रकार महासंघका पूर्व महासचिव समेत रहेका पोषण केसी क्षेत्रीय सभापतिको लागि मैदानमा उत्रिने तयारीमा छन् ।
नेपालगञ्ज उपमहानगरसमेत रहेको निर्वाचन क्षेत्र नम्बर २ मा संस्थापन खेमाबाट तरुणदल बाँकेका अध्यक्षसमेत रहेका विरेन्द्रबहादुर शाह र वर्तमान क्षेत्रीय सभापति रमेश गुप्ताको दाबी रहेको छ । संस्थापन इतर खेमाबाट राजकुमार साहु मैदानमा उत्रिने तयारीमा छन् ।
बाँके क्षेत्र नम्बर ३ मा नक्की खाँ र प्रकाश शाहीबीच प्रतिस्पर्धा हुने बताइएको छ ।