कांग्रेस बाँकेको सभापति : संस्थापन इतरबाट गौडेल पक्का, देउवा समूहबाट ४ आकांक्षी
Sunday, November 28th, 2021, 3:54 pm
Kalpristha
नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत बाँकेको निर्वाचन क्षेत्रीय तहसम्मको नेतृत्व चयन सम्पन्न भएको छ । अब जिल्ला तहको नेतृत्व चयनको सरगर्मी सुरु भएको छ । यतिखेर कांग्रेसभित्र जिल्ला सभापति पदमा को आउँछ? भन्नेतर्फ सबैको ध्यान छ ।
कांग्रेस नेता बादशाह कुर्मीले बाँके कांग्रेसको सभापति पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । कुर्मीले आफूलाई संस्थापन पक्षको एकल उम्मेदवार दाबी गरेका छन् । यता संस्थापन इतर पक्षबाट कांग्रेस नेता नारायण गौडेलले उम्मेदवारी दिने तयारी गरेका छन् । गौडेलले कालपृष्ठसँग कुरा गर्दै भने, ‘म संस्थापन इतर पक्षबाट एकल उम्मेदवार हुँ । अहिले पार्टीलाई एकताबद्ध बनाएर आगामी निर्वाचनमा विजयी गराउन सक्षम नेतृत्व आवश्यक छ । त्यसमा अधिकांश साथीहरुले मलाई समर्थन गर्नुभएको छ ।’
गौडेलले आइतबार उम्मेदवारी घोषणा गर्नेगरी तयारी गरेको बताएका छन् । यता, संस्थापन पक्षबाट अहिलेसम्म कुर्मीबाहेक अरुले उम्मेदवारी घोषणा गरेका छैनन् ।
कुर्मीले पनि कांग्रेस बाँकेको संगठनलाई बलियो बनाउन र आसन्न स्थानीय, प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा कांग्रेसलाई जिताउन उम्मेदवारी दिएको बताएका छन् ।
संस्थापन समूहबाट लुम्बिनी प्रदेशका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र बहादुर हमाल, नेताहरु निरन्जनसिंह सिजापति, राजकुमार बर्मा र लक्ष्मीनारायण शाह पनि आकांक्षी मानिएका छन् । आकांक्षीहरुलाई मनाउन जिल्लास्तरका नेताहरु आइतबार दिनभर व्यस्त छन् । तर सहमति जुटेको छैन ।
संस्थापन इतर समूहबाट उपसभापतिमा राजकुमार मौर्य, सचिव सुधांशु कोइराला र सहसचिवमा रेणुसिंह यादवको उम्मेदवारी हुने पनि पक्का भएको छ । तर एक जना उपसभापति, सचिव र सहसचिव टुंगिन बाँकी रहेको नेताहरुले बताएका छन् ।
अब जिल्ला सभापतिमा को आउँछ भन्ने जिज्ञाशा आम कांग्रेसी कार्यकर्ताहरुमा रहेको छ ।
यसैबीच, नेपाली कांग्रेसको १४ औं महाधिवेशन, जिल्ला निर्वाचन परिचालन समिति बाँकेको शनिबार सम्पन्न भएको बैठकले जिल्ला कार्यसमितिको निर्वाचनको कार्यकतालिका बनाएको छ । समितिका संयोजक एवम् जिल्ला निर्वाचन अधिकृत(वरिष्ठ अधिवक्ता) रेवती रमण भट्टराईको अध्यक्षतामा सम्पन्न बैठकले नेपाली कांग्रेस बाँकेको जिल्ला निर्वाचनका विषयमा विभिन्न निणर्य गरेको छ ।
उक्त बैठकको निणर्यअनुसार आइतबार दिउँसो २ बजे मतदाता नामावली प्रकाशन गरेर उम्मेदवारी फाराम वितरण कार्य सुरु गरिएको छ ।
यस्तै सोमबार बिहान ९ बजेदेखी दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन दर्तासहित सोही दिन बेलुकासम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । उम्मेदवारी मनोनयन सहितको निर्वाचन कार्यक्रम भने जिल्ला समन्वय समिति बाँकेमा गर्ने निर्वाचन परिचालन समितिले निणर्य गरेको छ ।
निर्वाचन कार्यक्रम अन्तर्गत मंसिर १४ गते(मंगलबार) बिहान ९ बजेदेखी दिउँसो ३ बजेसम्म मतदान सम्पन्न गरिनेछ ।