कांग्रेस दाङको सभापतिमा शंकरप्रसाद डाँगी
Sunday, November 28th, 2021, 6:41 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
दाङ, १२ मंसिर
नेपाली कांग्रेस दाङको सभापतिमा शंकर डाँगी निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा स्पष्ट मत नआएपछि आज पुन निर्वाचनको तयारी गरिएको थियो । तर सभापतिका अर्का मुख्य प्रतिष्पर्धी भुपबहादुर डाँगीले सभापतिमा मुख्यप्रतिष्प्रर्धी शंकरप्रसाद डाँगीलाई समर्थन गरेपछि उनी जिल्ला सभापति बनेका हुन् । शनिवार भएको निर्वाचनमा शंकरप्रसाद डाँगीले सात सय ७६, भुपबहादुर डाँगीले पाँच सय ४५, जानकीलाल बस्नेतले चार सय ७१ र कमल किशोर घिमिरेले तीन सय १५ मत पाएका थिए ।
प्रथम हुने उम्मेदवारको ५१ प्रतिशत मत नआएपछि सभापतिको लागि आइतबार पुनः निर्वाचन हुने भनिएको भएपनि सहमतिपश्चात् डाँगी जिल्ला सभापति भएको जिल्ला निर्वाचन समितिले जनाएको छ । सभापति पदका मुख्य प्रतिस्पर्धी भुपबहादुर डाँगी र शंकर डाँगीबीच भएको समहतिपश्चात शंकरप्रसाद डाँगी जिल्ला सभापति भएका हुन् ।
विद्यार्थी राजनीतिबाट प्रवेश गरेका डाँगी तेह्रौँ महाधिवेशनमा लोकप्रिय मत लिएर जिल्ला सचिवमा निर्वाचित भएका थिए । उनी सभापतिका लागि बलियो उम्मेदवार मानिदै आएका थिए । उनीलाई स्थापनइतर समूहको समर्थन रहेको थियो ।
नेविसंघको साविक बाघमारे गाविसको सचिव भएर संगठन बिस्तार गर्दै आएका डाँगीको सांगठनिक कुशलताका कारण पनि नेविसंघ क्षेत्र नं. ३ का क्षेत्रीय सचिव रहेर काम गरिसकेका छन् ।२०५५ सालमा महेन्द्र बहुमुखी क्याम्पस दाङका स्ववियु सभापति भएका डाँगी २०५७ सालमा नेविसंघ दाङका जिल्ला अध्यक्ष भएर नेतृत्व गरिसकेका छन् ।
२०५९ सालमा नेविसंघको केन्द्रीय सदस्य भएर राजनीतिक यात्रालाई केन्द्रीय राजनीतिसँग जोड्न उनी सफल भए । पार्टीको बाह्रौ अधिवेशनमा जिल्ला सदस्य भएका डाँगी भएका डाँगी सोही कार्यकालमै सचिवमा मनोनित भए भने तेह्रौ अधिवेशनमा पुनः सचिवमा निर्वाचित भएका थिए ।
त्यसैगरी जिल्ला उपभापतिमा गिरिराज सुवेदी र कमानसिंङ भारती निर्वाचित भएका छन् । उपसभापतिमा निर्वाचित सुवेदीले ९ सय ५ र कमानसिंह भारतीले ८ सय ६१ मत ल्याएर विजयी भएका हुन । उपसभापतिमा पराजित बुद्धिप्रकाश चौधरीले ८ सय ३६, प्रदिपकुमार खड्काले ३ सय ४८,मिनकेतन चौधरीले ६ सय ९२, एकराज आचार्यले २ सय ९ र यज्ञबहादुर वलीले एक सय २५ मत ल्याएका थिए ।
नेपाली कांग्रेस दाङको सचिवमा अर्जुन योगी र बालिका लम्साल बिजयी भएका छन् । योगी नेपाल शिक्षक संघका लुम्विनी प्रदेश अध्यक्ष हुन् भने दाङ कांग्रेसको इतिहासमै पहिलो पटक महिला सचिव पदमा लम्साल (नेपाल) निर्वाचित भएकी हुन् ।
बालिकाले एक हजार पाँच मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् । सचिव पदमा चार जनाको बीचमा प्रतिस्पर्धा भएको थियो । तर, लम्साल मात्रै एक्ली महिला प्रतिस्पर्धी थिइन् । यस्तै सहसचिवमा राजु आचार्य र सुबोध कुमार डाँगी निर्वाचित भएका छन् । आचार्य तुलसीपुर २ का वडाध्यक्ष हुन् भने डाँगी शिक्षक हुन् ।