यू-१९ क्रिकेटको उपाधि लुम्बिनी प्रदेशलाई
Sunday, December 5th, 2021, 5:35 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १९ मंसिर
लुम्बिनी प्रदेशले वाई-वाई यू-१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । टियु क्रिकेट मैदानमा भएको फाइनलमा सुदुरपश्चिम प्रदेशलाई १ सय १३ रनले पराजित गर्दै लुम्बिनीले उपाधि हात पारेको हो । जितका लागि २ सय १३ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिम २८ दशमलब ३ ओभरमा अलआउट हुदै केवल ९९ रनमा सिमित भयो ।
सुदुरपश्चिमका लागि लोकेश बमले सर्वाधिक २५ रन जोडे । कप्तान खडक बोहरा २१, शेर मल्लले १५ तथा नारायण जोशी ११ रनमा आउट भए । सुदुरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका अजय चौहानले सर्वाधिक ५ विकेट लिए । दुर्गेश गुप्ताले ३ विकेट तथा मोहम्मद हुसेनले २ विकेट हात पारे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा अलआउट हुदै २ सय १२ रन जोडेको थियो ।
लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ७० रनको योगदान गरे । देवले ९५ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे । विशाल विक्रम केसीले ५१ रन, दुर्गेश गुप्ताले ३२ तथा प्रज्वल थापाले २४ रन जोडे ।सुदुरपश्चिमका आकाश चन्दले सर्वाधिक तीन विकेट हात पारे ।
शेर मल्ल र हेमन्त धामीले समान दुई-दुई विकेट चट्काए । नरेन साउद र राहुल भण्डारीले एक-एक विकेट लिए । राउन्ड रोविनको आधारमा खेलाइएको प्रतियोगितामा सातवटै प्रदेशको सहभागिता रहेको थियो ।