नेपालगन्जलाई दुई महिनामा साक्षर बनाउने योजना
Thursday, December 16th, 2021, 6:55 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १ पौष
नेपालगन्ज उप-महानगरपालिकाले नगरलाई दुई महिनाभित्र पूणर् साक्षर बनाउने दावी गरेको छ । अबको दुई महिना साक्षरता अभियान सन्चालन गरेर फागुन मसान्तभित्रै नगरलाई साक्षर घोषणा गर्ने योजना उप-महानगरले अघि सारेको हो ।
उप-महानगरपालिकाले बीहीबार पत्रकार सम्मेलन गर्दै दुई महिनामा निरक्षरको तथ्यांक लिने र साक्षरता कक्षा सन्चालन गरी नगरलाई साक्षर घोषणा गर्ने कार्यक्रम तय गरिएको जनाएको हो । यो कार्यक्रम उप-महानगरपालिकाको पूर्व निर्धारित कार्यक्रम नभई पछि उस्तै प्रकृतिका कार्यक्रमहरु मर्ज गरेर तय गरिएको कार्यक्रम भएको उप-महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले जानकारी दिए ।
सुवेदीले साक्षरता अभियानलाई सफल बनाउन निरक्षरहरुलाई साक्षरताको महत्व बुझाउने र तीव्र गतिमा नाम लेख्न सक्ने र अक्षर चिन्न सक्ने गरी कक्षा सन्चालन गर्ने दावी गरे । उनले भने, ‘लुम्बिनी प्रदेशका अधिकांश जिल्ला र स्थानीय तहहरु साक्षर घोषणा भइसक्दा यस क्षेत्रकै अग्रणी उप-महानगरपालिका साक्षर नहुनु दुःखको कुरा हो । अब हामी यस अभियानबाट साक्षर बनाउछौँ ।’
उनले उप-महानगरपालिकामा करिब १५ हजार जना निरक्षर रहेको आँकलन गरिएको जानकारी दिए । वि.सं. २०७६ सालमा सर्वे गर्दा नेपालगन्जमा २० हजार मानिस निरक्षर रहेकोमा त्यसपछि साक्षरता कक्षाहरु पनि सन्चालन गरिएकोले १५ हजार निरक्षर रहेको हुनसक्ने उनले बताए ।
साक्षरता १५ देखि ६० वर्षका मानिसलाई ४५ दिने साक्षरता कक्षा सञ्चालन गरिँदैछ । त्यसका लागि नगरमा रहेका एक सय ३० जना बालविकास शिक्षिकालाई प्रयोग गर्ने योजना बनाइएको छ । यस हप्ताभित्र सबै वडाअनुसार निरक्षरको तथ्यांक आइसक्ने र कक्षाहरुको संख्या निर्धारण गरिसकेपछि धमाधम कक्षहरु सन्चालन गरिने उप-महानगरपालिकाले जनाएको छ ।
अभियानमा करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । जसमध्ये करिब पाँच लाख रपैयाँ संघीय सरकारले उपलब्ध गराउने उप-महानगरपालिकाले जनाएको छ ।