काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन आज देखी सुरु
Tuesday, December 21st, 2021, 9:18 am
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, ६ पुस
ब्याडमिन्टन जगतमा उत्कृष्ट खेलाडीहरू उत्पादन गर्ने उद्देष्य सहित कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप २०२१ कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) प्रतियोगिता मंगलबारदेखी सुरु भएको छ । । गत वर्ष पुस १७ गते काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) स्थापना भएको थियो । गैर–नाफामूलक संस्थाको हैसियतले राष्ट्रिय स्तरमामात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमै नेपालको नाम उच्च पार्न सक्ने खेलाडी उत्पादन गर्ने लक्ष्य सहित केबीएको स्थापना भएको अध्यक्ष रिता विष्ठले बताइन ।
पुस ९ गते सम्म त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने प्रतियोगितामा बैंकिङ क्षेत्रमा देशकै अग्रणी संस्थाकुमारी बैंक लिमिटेडको मुख्य प्रायोजनमा रहेको छ । च्याम्पियनसिपमा कर्पोरेट जगतका आठ टिमले दुई समूहमा रहेर प्रतिस्पर्धा गर्दैछन् । च्याम्पियनसिपको समूह ‘ए’ मा कुमारी बैंक, कान्तिपुर पब्लिकेशन्स, नेपालय आयल निगम र सिल्क ग्रुप रहेका छन । समूह ‘बी’ मा आईएमई ग्रुप, नेपाल विद्युत प्राधिकरण, नेपाल राष्ट्र बैंक र नेपाल टेलिकमले प्रतिस्पर्धा गर्ने आयोजकले बताएको छ ।
नेपाल ब्याडमिन्टन संघ (एनबीए) को वरीयताको आधारमा शीर्ष ८ वरीयताका पुरुष र महिला खेलाडीले च्याम्पियनसिपमा कर्पोरेट हाउसको टिमबाट प्रतिस्पर्धा गर्दैछन् ।
महिलातर्फ शीर्ष आठका दुई खेलाडी चोटको कारण खेल्न नसक्ने भएपछि नवौं र दसौं वरीयताका खेलाडीले अवसर पाएका छन् । एक टिममा ६ देखि ८ जना खेलाडी हुनेछन्, जसमा वरीयतामा नरहेका खेलाडी कर्पोरेट हाउसकै हुनुपर्नेछ । मेन्स सिंगल्स, वुमेन्स सिंगल्स, कर्पोरेट डबल्स, मेन्स डबल्स र वुमेन्स डबल्स गरी ५ स्पर्धासमावेश गरिएको छ ।
यसमध्ये कुनै ३ स्पर्धा जित्ने टिमले खेल जित्नेछ ।
करिब ४९ लाख ४६ हजार रुपियाँ खर्च लाग्ने काठमाडौं टिम च्याम्पियनसिपमा विजेता टिमका वरीयताप्राप्त खेलाडीले ७५ हजार, उपविजेताले ६० हजार, तेस्रोले ५५ हजार र चौथोले ४७ हजार ५ सय पाउनेछन् । खेलाडीको आयस्रोत बृद्धि गर्ने उद्देष्यले वरीयताप्राप्त खेलाडीलाई दर्ता हुनेबित्तिकै २० हजार व्यवस्था गरिएको छ । प्रत्येक खेलमा म्याचफि वापत खेलाडीले २ हजार ५ सय पाउनेछन ।
समूह चरणबाटै बाहिरिने खेलाडीले पनि ३५ हजारसम्म प्राप्त गर्नसक्नेछन् । लैंगिक समानताको लागि पुरुष र महिला खेलाडीलाई समान पुरस्कारको व्यवस्था गरेको आयोजकले बतायो । टिम च्याम्पियनलाई ‘त्रिरत्न रनिङ ट्रफी’ दिइनेछ भने पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरूले मेडल तथा गिफ्ट ह्याम्पर पाउनेछन् ।