कलेज अफ इन्जिनियरिङले गर्यो विद्यार्थीहरुलाई स्वागत
Tuesday, December 21st, 2021, 3:07 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ६ पुस
गत सोमबार कलेज अफ इन्जिनियिरिङ एण्ड म्यानेजम्यान्टले विद्यार्थीहरुलाई स्वागत गरेको छ । कलेजका प्रिन्सिपल विकास न्यौपानेको सभापतित्व तथा कलेजका प्रवन्ध निर्देशक प्राध्यापक डाक्टर बेदराज केसीको प्रमुख आथित्यतामा पा“चौं सेमेस्टरले तेस्रो र तेस्रो सेमेस्टरले पहिलो सेमेस्टरका विद्यार्थीहरुलाई स्वागत गरेका हुन् ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९का कारण गत वर्ष विद्यार्थीहरुलाई स्वागत गर्न सम्भव नभएका कारण यो वर्ष संयुक्तरुपमा तेस्रो र पहिलो वर्ष वर्षका विद्यार्थीहरुलाई स्वागत गरिएको कलेजका प्रशासन प्रमुख मनोज रेग्मीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रबन्धक प्रा.डा. केसीले ‘होटेलको खानाभन्दा आमाले पकाएको बासी भात मिठो’ हुने भन्दै आफ्नै घर आगनमा ईन्जिनियरिङ शिक्षा हा“सिल गर्न पाउनु हामी सबैको खुशीको कुरा भएको बताए । उनले कलेजमा प्राविधिक शिक्षा अध्ययन गरी देश तथा विदेशमा समेत दक्ष जनशक्तिको रुपमा काम गरिरहेको अवगत गराए ।
डा केसीलाई कार्यक्रममा कलेज परिवारका तर्फबाट भर्खरै प्राध्यापक भएको खुशीमा दोसल्ला ओढाएर सम्मानसमेत गरिएको थियो ।
कार्यक्रममा विभिन्न खेल प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कार समेत वितरण गरिएको छ । गत वर्ष र यस वर्ष आयोजना गरिएको खेल सप्ताहमा फुटवल, भलिवल, बास्केटबल, क्रिकेट, र चेस खेल प्रतियोगिता गराइएको थियो ।
विविध सांस्कृतक प्रस्तुतीसहितको स्वागत कार्यक्रमा विद्यार्थीहरुले नृत्य, कविता, गजल र चुट्किलालगायत अन्य साहित्य रचनाहरु सुनाएका थिए । कार्यक्रममा कलेजका आईटी प्रमुख ई. सञ्जीप रेग्मी, ई. नारायण घिमिरे, लेखा शाखा प्रमुख पूर्ण बहादुर चौधरी, टिचिङ स्टाफ, नेशनल ईन्जिनियरिङ कलेजका लेखा शाखा प्रमुख जनक डिसीलगायतको सहभागिता रहेको थियो ।
कलेज अफ इन्जिनियिरिङ एण्ड म्यानेजम्यान्ट सन २०१३ मा पोखरा विश्व विद्यालयअन्तर्गत आफ्नो अध्यापन कार्य प्रारम्भ गरेको यो कलेजमा हाल बीइ सिभिल र बीइ आइटी संकायहरु कक्षाहरु सञ्चान भई रहेका छन् ।