हिमपातले हुम्लाको जनजीवन कष्टकर, तराईमा पनि चिसो बढ्ने
Saturday, December 25th, 2021, 6:03 pm
Kalpristha
हुम्लामा तीन फिटसम्मको हिमपात भएको छ । जसका कारण हुम्लाको जनजीवन प्रभावित भएको छ । चिसो बढेसँगै उच्च हिमाली जिल्लाहरुमा जनजीवन प्रभावित भएको छ ।
जिल्लाको उत्तरी भेगमा नाम्खा गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँ तीन फिट जति हिउँ जमेको बताइएको छ । नाम्खा गाउँपालिकाको उच्च भेग यारी लिमी नारा न्यालु लेकमा बाक्लो हिउँ जम्नुका साथै आवतजावतमा समेत थप कठिनाइ उत्पन्न भएको प्रशासनले जनाएको छ । हुम्लामा हिमपातका कारण चिसो अत्यधिक बढेपछि जनजीवन कष्टकर बन्दै गएको छ ।
हिमपातका कारण उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा, नारा, न्यालु लगायतमा आवतजावतमा थप कठिनाइ भएको छ । एक गाउँबाट अर्को गाउँसम्मको आवतजावत रोकिएको छ । यस्तै सदरमुकाममा चहलपहल न्यून छ ।
उत्तरी नाम्खा गाउँपालिकामा जिल्ला सदरमुकाम भन्दा बढी चिसो रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । यहाँको तापक्रम माइनस ८ डिग्री सेल्सियससम्म पुगेसँगै बिहान बेलुका बढी चिसो हुने गरेको छ ।
हिमपात हुँदा जिल्लाका दक्षिण क्षेत्रका किसानलाई भने फाइदा पुगेको छ । हिउँदे बाली गहुँ, जौ, खनजोत गर्ने समयमा हिमपात हुँदा सजिलो हुने भएको छ । यस पटकको हिमपातले जेठासी बालीलाई राम्रो गर्ने जानकारी प्राप्त भएको छ । शुक्रबार साँझदेखि जिल्लाको मौसममा फेरबदल आएसँगै शनिबार बिहानबाट हिमपात भएको छ ।
देशभर चिसो बढ्दै गएको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा बाक्लो हिमपातका कारण जनजीवन प्रभावित हुन थालेको छ । अबको केही दिन मौसम बद्ली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईमा पनि चिसो बढ्ने उनीहरुको भनाइ छ ।
तराईका भू-भागहरुममा बिहानको समयमा हुस्सु र कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेको महाशाखाले जनाएको छ । चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।