बाँके कांग्रेसको नेतृत्व चयनमा सर्वसम्मतको प्रयास हुन्छ : सह-महामन्त्री राठौर
Thursday, December 30th, 2021, 3:46 pm
Kalpristha
नेपाली कांग्रेसका नवनिर्वाचित सह-महामन्त्री किशोरसिंह राठौरले बाँकेमा हुन लागेको निर्वाचनमा सर्वसम्मतको प्रयास गरिने बताएका छन् । सह-महामन्त्री निर्वाचन भएपछि पहिलोपल्ट नेपालगन्ज आएका राठौरले नेता कार्यकर्ताहरुलाई अब एक ढिक्का भएर लाग्न आह्वान पनि गरे ।
नेपाल प्रेस युनियन बाँकेले बिहीबार नेपालगन्ज विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले महाधिवेशनले एकताको सन्देश दिएको बताउँदै अब पार्टी सुदृढ ढंगले अघि बढ्ने विश्वास व्यक्त गरे ।
उनले आगामी चुनावमा एक्लै वा गठबन्धनमा लड्ने भन्ने बारेमा समय आएपछि निणर्य हुने बताए । राठौरले राष्ट्रिय सहमति कायम गरेर मात्र एमसिसी पारित हुने बताए । अहिले नै एमसिसी पारित नहुने उनले स्पष्ट पारे ।
यसैबीच, सह-महामन्त्री राठौर र नवनिर्वाचित केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीलाई नेपालगन्जमा भव्य स्वागत गरिएको छ । काठमाडांैबाट बिहीबार नेपालगन्ज आएका बर्दिया निवासी राठौर र बाँके निवासी बाल्मिकीलाई स्वागत गर्न बाँके र बर्दियाका नेता कार्यकर्ता ठूलो संख्यामा विमानस्थल पुगेका थिए ।
बाल्मिकी नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिमा बाँकेबाट निर्वाचित एक मात्र केन्द्रिय सदस्य हुन् भने पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालापछि बाँकेबाट केन्द्रिय सदस्य बन्ने बाल्मिकी पहिलो नेता हुन् ।