डुडुवामा मतदाता नामावली संकलन तीव्र
Thursday, December 30th, 2021, 7:22 pm
Kalpristha
डुडुवा गाउँपालिकामा फोटोसहितको मतदाता नामावली संकलनको कार्य धमाधम भईरहेको छ । जिल्ला निर्वाचन कार्यालय बाँकेले गाउँपालिकाका कर्मचारी सम्मिलित ४ जनाको टोली खटाई विवरणसहितको नामावली संकलनको कार्य गरिरहेको छ ।
गत पुस ४ गतेदेखि शुरु भएको नामावली संकलनको कार्यमा विहीबार दिउसोसम्म १२ सय ४० जनाको मतदाता नामावली संकलन भएको दर्ता कर्मचारी कौशल कैरातीले बताए । उनका अनुसार मतदाता नामावलीमा नाम छुटेका, उमेर पुगेर नागरिकता नबनाएका तथा बाहिर जिल्ला तथा स्थानीय तहबाट बसाई सराई गरि आएर बसेका नागरिकहरुको मतदातामा नामावली संकलन गरिएको छ ।
डुडुवा गाउँपालिका वार्ड नंं ३ बनकट्टीमा विवरण संकलन केन्द्रको स्थापना गरि नागरिकहरुको नामावली संकलन भईरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताए ।
हिडडुल गर्न नसक्ने तथा सवारी साधन नभएका महिला तथा जेष्ठ नागरिक, असहाय, तथा अति विपन्न, अपांगता भएका सम्पुणर् नागरिकहरुलाई घरबाट संकलन केन्द्रसम्म आवत जावतका लागि गाउँपालिकाले सवारी साधनको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
अध्यक्ष चौधरीले सम्पुणर् नेपालीहरुको मताधिकारको संरक्षण गर्दै गाउँपालिका अन्र्तगत कुनै पनि नागरिक मताधिकारबाट बञ्चित नहुन भनेर सबैलाई आफ्नो नामावली दर्ता गराउन आग्रह समेत गरे ।
मतदाता नामावली संकलन केन्द्र वनकट्टीमा प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायसहितको टोलीले विवरण संकलनको कार्य प्रक्रियाका बारे अनुगमन गरेको छ । विवरण संकलन केन्द्रमा अहिले चिसो तथा शितलहरले बढेको चिसोबाट छल्नका लागि गाउँपालिकाले आगो ताप्न दाउराको समेत व्यवस्था गरेको छ । डुडुवामा पुस १८ गतेसम्म नामावली संकलन गरिनेछ । छुटेकाहरुलाई तीन दिनभित्र आफनो नाम दर्ता गराउन गाउँपालिकाले अनुरोध गरेको छ ।