अन्ततः प्रदेश २ को नाम तोकियो ‘मधेस प्रदेश’
Monday, January 17th, 2022, 7:29 pm
Kalpristha
प्रदेश २ कोम नाम मधेस प्रदेश राखिएको छ । स्थापना भएको ४ वर्षपछि प्रदेश २ को नाम र राजधानी तय भएको छ ।
सोमबार प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि भएको मतदानमा राजधानी जनकपुर र नाम मधेस प्रदेश प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको हो । विशेष संसदीय समितिको नामकरणसम्बन्धी पहिलो प्रस्ताव ‘मधेस प्रदेश’ को पक्षमा ८० मत परेको छ ।
प्रदेश सभाको जम्मा एक सय तीनजना सदस्यमध्ये उपस्थित ९९ जना प्रदेश सभा सदस्यमध्ये १९ जनाले विपक्षमा मतदान गरेका थिए ।
सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रले संयुक्त रूपमा गरेको ‘मधेस प्रदेश’ प्रस्तावमा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन गरेको थियो ।
योसँगै संसदीय समितिले प्रस्ताव गरेका नामहरू ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेस प्रदेश’ प्रस्ताव स्वतः निष्क्रिय भएको सभामुख सरोज यादवले घोषणा गरेका थिए ।
यसअघि राजधानीका लागि भएको मतदानमा जनकपुर राजधानी प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको थियो ।
जनकपुर राजधानीको पक्षमा उपस्थित ९९ जना प्रदेश सभा सदस्यमध्ये ७८ जनाले पक्षमा मतदान गरेका थिए भने २१ जनाले विपक्षमा मतदान गरेका थिए ।