विद्यार्थी केन्द्रित शिक्षण पद्धति अपनाउँदै ज्ञानोदय
Sunday, January 23rd, 2022, 8:29 pm
Kalpristha
–विक्रम बुढाक्षेत्री
खजुरा गाउँपालिका-३ मा रहेको ज्ञानोदय नमुना माध्यामिक विद्यालय एक उदाहरणीय विद्यालयको रुपमा चिनिन्छ । २०३४ सालमा स्थापना भएको ज्ञानोलय खजुराको कान्छो सामुदायिक विद्यालयको रुपमा पनि चिनिन्छ । तर छोटो समयमा विद्यालयको गुणस्तर बृद्धि र शैक्षिक सुधारले ज्ञानोदय नमूना बन्न सफल भएको छ ।
अभिभावकहरु निजि विद्यालयमा आकर्षित भइरहेका बेला ज्ञानोलयले भने त्यस प्रवृत्तिलाई चुनौति दिँदै आएको छ ।
गत दुई वर्षदेखि कोभिड-१९ का कारण विद्यालयमा पठपाठन बन्द रहेको मौका छोप्दै ज्ञानोदयले यतिबेला शिक्षकलाई गुणस्तरीय अध्यापनका लागि सिकाई कार्यक्रम संचालन गरिरहेको छ ।
सातदिने सिकाई सुधार कार्यशालामा विद्यालयमा रहेका कूल ४८ शिक्षकमध्ये अधिकांश सहभागी छन् । विद्यालयका प्रध्यानाध्यापक ऋषिराम सापकोटा विद्यालयमा विद्यार्थी केन्द्रित शैक्षिक पद्धतितर्फ शिक्षकको क्षमता बृद्धि गर्नका लागि सातदिने सिकाई सुधार अभियान संचालन गरेको बताउँछन् ।
उनी अब विद्यार्थीलाई जबरजस्तीभन्दा पनि आफूखुसी विद्यालय आउन उत्प्रेरित गर्ने शैक्षिक विधि अपनाइने बताउँछन् ।
सापकोटा भन्छन्, ‘हाम्रो उद्देश्य भनेको विद्यार्थीलाई पढ्न बाध्य बनाउने होइन । उनीहरुलाई शिक्षकसँग कसरी नजिक ल्याउन सकिन्छ भन्ने हो ? अबको शैक्षिक विकास भनेको विद्यार्थीलाई स्वयं जागरुक गराएर अध्यापन गराउनु हो ।’

सहभागी
सिकाई कार्यक्रममा प्रत्येक विषयगत शिक्षकलाई आ-आफ्नो विषयगत शैक्षिक सामग्री सहजै उपलब्ध वस्तुहरुबाट तयार पारेर कसरी अध्यापन गर्न सकिन्छ भनेर सिकाइँदै छ । सापकोटा विज्ञानको मात्र नभएर अब प्रत्येक विषयको ल्याब बनाउने गरी अघि बढेको बताउँछन् ।
‘हामीले लो कस्ट, नो कस्ट बाट शैक्षिक सामाग्री बनाउँछौं र अब विद्यालयले एक शिक्षक एक ल्याबको योजनामा अघि बढ्ने छ,’ सापकोटाले भने ।
शिक्षकहरुलाई टाक्स नेपालका सिइओ अर्जुन भट्ट र ग्लोबल स्कील डेभलप्मेन्ट नेपालका सिइओ क्षेत्रप्रसाद ज्ञवालीले अभिमुखीकरण गरिरहेका छन् । ४२ घण्टे उक्त कक्षा गत माघ ४ गते सुरु भएको हो भने १० गते समापन हुनेछ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर केसी यस्तो किसिमको सिकाई विद्यालयमा पहिलोपटक भएको बताउँछन् । केसीले भने, ‘यसभन्दा पहिला पनि हामीले विभिन्न प्रकारका तालिम, सिकाई कक्षा संचालन गरेका थियौँ । तर विद्यार्थी केन्द्रित शैक्षिक विधि सिकाउने तालिम पहिलो पटक अयोजना गरेका छौं ।’
कक्षामा सहभागी विद्यालयका विज्ञान शिक्षक यमनारायण महतो सिकाई कक्षा अहिलेसम्मका तालिमध्ये पृथक तालिम रहेको बताउँछन् । उनले अब विद्यालयलाई विद्यार्थीमुखी बनाउने सीप सिकेको बताए ।
दुई हजार पाँच सय बढी विद्यालयसँग सहकार्य
ग्लोबल स्कील डेभलप्मेन्ट नेपालका सिइओ क्षेत्रप्रसाद ज्ञवाली हालसम्म दुई हजार पाँच सय बढी विद्यालयसँग सहकार्य गरिसकेको बताउँछन् ।
‘हामीले १३ वर्षदेखि शैक्षिक यात्रामा सिकाई सुधार कार्यक्रम सुरु गरेका हौं । राज्यको लगानी गरेको विद्यालयले प्रतिफल दिन नसकेको हुँदा क्रियाकलापमा आधारित सिकाई र परियोजनामा आधारित सिकाईका आधारमा कसरी अध्यापन गराउन सकिन्छ भनेर हामीले शिक्षकलाई सिकाउने गर्छौं,’ ज्ञवालीले भने ।
सिकाई कक्षामा विद्यार्थीलाई खेलाएर वा सामाग्री प्रयोग गरेर अध्यापन गर्न सिकाइने ज्ञवालीले बताए । सिकाई कक्षा नर्सरीदेखि १२ कक्षा र सोभन्दा माथिका विद्यार्थीका लागि पनि प्रयोग हुने उनले बताए ।
उनी भन्छन्, ‘यस सिकाई कक्षाले धेरै विद्यालय एवम् विद्यार्थीलाई पुनर्जागृत पनि गरेको छ । शून्यमा रहेका विद्यालयले पनि सिकाई कक्षाको माध्यमबाट शिक्षामा गुणस्तर ल्याउन सकेका छन् ।’