खुल्यो तराईबाट चीन जोड्ने ढोका
Tuesday, January 25th, 2022, 1:00 pm
Kalpristha
-नगेन्द्र उपाध्याय र ललित बिष्ट
कालिकोटको पलाँता गाउँपालिकाका उमेश बमले गाउँमै दैनिक उपभोग्य वस्तुको पसल सञ्चालन गरेका छन् । अघिल्लो महिनासम्म पसलमा एक लिटर खाने तेल किन्दा २५० रूपैयाँ पर्थ्यो । तराईबाट कर्णाली राजमार्ग हुँदै खाद्यवस्तु गाउँसम्म पुर्याउन भरिया लगाउनु पर्थ्यो । कर्णाली राजमार्ग र कर्णाली करिडोर जोड्न कर्णाली नदीमा पुल थिएन । तर अहिले पुल बनेर सञ्चालनमा आएपछि सबै कुरा सहज र सामान पनि सस्तो भएको छ । ‘अहिले कर्णाली नदीमा पुल सञ्चालनमा आएपछि सुर्खेतमा लोड गरिएको सामान घरनजिकै आउँछ,’उनले भने, ‘दैनिक उपभोग्यदेखि निर्माण सामग्रीसम्म अहिले सस्तो भएको छ ।’
कर्णालीमा बनेको पुलले कणर्ाली राजमार्ग र कर्णाली करिडोरलाई जोडेपछि गाउँमा सस्तोमा खाद्यान्न र अन्य सामग्री पाइन थालेको छ । २५० रूपैयाँमा बेच्दै आएको खाने तेल अहिले दुई सय रूपैयाँमा झरेको छ । ‘पहिला ढुवानी महँगो हुँदा दैनिक उपभोग्य सामग्री महँगोमा बिक्री गर्नुपर्ने बाध्यता थियो,’ बमले भने, ‘पुल सञ्चालनमा आएसँगै यस्ता सामग्रीको मूल्य घटेको छ ।
पहिले कर्णाली राजमार्गको जितेगडामा सहरतिरबाट आउने गाडीबाट सामान अनलोड गर्नुपर्थ्यो । त्यहाँबाट कर्णालीवारि ल्याउन भरियाले पिठ्युँमा बोक्थे । किलोको ३० रूपैयाँका दरले भरियाले जितेगडाबाट सामान बोकेर कर्णालीवारि ल्याउँथे । त्यहाँबाट फेरि अर्को गाडीमा सामान लोड गरेर यहाँसम्म ल्याउनुपथ्र्यो । सुर्खेतमा पाइनेभन्दा दोब्बर मूल्यमा दैनिक उपभोग्य सामान बिक्री गर्नुपर्ने बाध्यता थियो ।’
कर्णाली करिडोर कालिकोटको खुलालुदेखि सुरु हुन्छ । उत्तरको छिमेकी चीनसँग जोड्ने यो सडकको १२२.७५ किलोमिटर खण्ड तयार भए पनि कर्णाली नदीमाथि पुल नहुँदा यातायातका साधन न्यून गुड्थे । हेलिकोप्टर र फेरीबाट तारिएका केही सीमित साधनका कारण ढुवानी पनि महँगो थियो ।
पुल सञ्चालनमा आएसँगै प्रदेश राजधानी सुर्खेतबाट हिँडेका गाडी कालिकोट मात्रै होइन, सुदूरपश्चिमको बाजुरा हुँदै हुम्लासम्म पुग्न थालेका छन् । यसबाट कर्णाली नदीपारिका बासिन्दालाई यात्रासँगै दैनिक उपभोग्य वस्तु खरिद-बिक्रीमा सहज भएको छ ।
२०७१ चैत ९ गते काम सुरु गरेको नेपाली सेनाले कालिकोट खण्डको ४० किलोमिटर, सुदूरपश्चिम प्रदेशमा पर्ने बाजुरा खण्डको ४४ किलोमिटर र हुम्ला खण्डको ३८.७५ किलोमिटर सडक निर्माण सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरिसकेको छ । अब चीन पुग्न १२ किलोमिटर सल्लीसल्लाको भीर फोड्न बाँकी छ ।
१२ मध्ये सात किलोमिटर नेपाली सेनाले जिम्मा लिएको छ भने बाँकी सडक विभागले निर्माण गरिरहेको छ । नरहरिनाथ गाउँपालिकाकी मीना बिष्टले पुल बनेसँगै पिठ्युँमा भारी बोक्नुपर्ने बाध्यता अन्त्य भएको बताइन् । ‘सडक थियो, पुल नहुँदा यातायातका साधन चल्दैनथे, जितेगडाबाट पिठ्युँमा भारी बोकेर दैनिक उपभोग्यदेखि अन्य सामान ल्याउनुपर्ने बाध्यता थियो,’ उनले भनिन्, ‘पुल बन्यो, सडकमा गाडी चल्न थालेपछि घर-आँगनमै सामान आउँछ ।’
खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्मको १२२.७५ किलोमिटर सडक निर्माण सम्पन्न गरेर २०७७ सालमै सेनाले सडक विभागलाई हस्तान्तरण गरेको थियो । सडक बने पनि पुल नहुँदा सञ्चालनमा आएको थिएन । पुल बनेसँगै चीन जोड्ने ढोका खुलेको छ । यो ढोका खुलेपछि चीनको भोट (तिब्बत) सँग फेरि व्यापार विस्तार हुने स्थानीयको भनाइ छ । ‘हाम्रा बाजेहरूले भोटबाट नुनदेखि सुनसम्म ल्याउँथे, बुबाको पालामा त्यो व्यापार हाट (तराई) सर्यो,’ कालिकोट रास्कोटका धनीराम बरालले भने, ‘कर्णाली करिडोर र खुलालु पुल भोटसँग जोडिने समृद्धिको मार्ग हो ।’
भरिया विस्थापित
राजमार्गबाट कर्णाली करिडोर जोड्ने पुल सञ्चालनमा आएसँगै कर्णाली राजमार्गबाट आउने सामग्री कर्णाली करिडोरसम्म ढुवानी गर्ने भरिया विस्थापित भएका छन् । जितेगडा बजारमा ६ वर्षदेखि भारी बोकेर जीविका चलाउँदै आएका खाँडाचक्र नगरपालिका-२ का अली विकले खुलालुमा पक्की पुल बनेपछि परिवार पाल्न समस्या भएको बताए । ‘तराईबाट गाडीमा ल्याइएका सामग्रीहरू जितेगडामा झारिन्थ्यो । त्यहाँबाट बोकेर पारि पुर्याउँदा दैनिक एक हजार रूपैयाँसम्म आम्दानी हुन्थ्यो, परिवार पाल्न सहज भएको थियो,’ उनले भने, ‘पुल सञ्चालनमा आएसँगै ६ वर्षदेखिको पेसा संकटमा परेको छ ।’
सान्नीत्रिवेणी गाउँपालिका-२ की पद्मा विकले पनि जितेगडामा भारी बोकेर दैनिकी चलाउँथिन् । पुलले उनको पनि रोजगारी खोसेको छ । ‘अब कसरी जीविका चलाउने हो भन्ने चिन्ता लाग्न थालेको छ,’ उनले भनिन्, ‘पुलले धेरैलाई सहज बनाए पनि हामी भरियालाई भने विस्थापित बनाएको छ ।’ जितेगडा बजारमा दैनिक २० देखि ३० जनासम्म भरिया छन् ।
स्थानीय व्यवसायी आशीष लुवारले पुल बनेपछि भरियाको रोजगारी गुमेको बताए । उनले स्थानीय सरकारले भरियाका बारेमा सोच्नुपर्ने बताए । ‘उनीहरू पहिले भारी बोक्न कालापहाड (भारतका पहाडी भाग) जान्थे, कणर्ाली राजमार्ग सञ्चालनमा आएपछि यहीं भारी बोकेर जिविका चलाउन थाले,’ उनले भने, ‘पुलले भरियाको रोजगारी गुमेको छ, स्थानीय सरकारले यसबारे सोच्नुपर्छ ।’
कर्णाली राजमार्ग र कर्णाली करिडोर जोड्ने खुलालु पुल निर्माण गर्न २०६९ सालमा कन्काई नेपाल प्रगति जेभीले ठेक्का लिएको थियो । दुई वर्षभित्र सक्नुपर्ने उक्त पुल निर्माण गर्न १० वर्ष लाग्यो । सुरुमा १३ करोडमा ठेक्का लिएको कन्काईले १५ करोड ९२ लाख रूपैयाँमा पुल निर्माण सम्पन्न गरेको छ । स्टिल ट्रस पुल ७५ मिटर लम्बाइ र ९ मिटर चौडाइ छ । कन्काईका प्रतिनिधि दीपकराज मैनालीले कोरोना संक्रमणका कारण पुल निर्माणमा ढिलाइ भएको बताए ।
-नागरिक दैनिकबाट साभार