भ्रष्टाचार आरोपमा व्यापारी पशुपति मुरारका सहित १८ जना विरुद्ध मुद्दा दायर
Wednesday, January 26th, 2022, 7:32 pm
Kalpristha
कमल खत्री
नेपालगन्ज, १२ माघ
अनुमतिपत्रमा तोकिएको भन्दा बढी प्राकृतिक खानी दोहन गरेको आरोपमा नेपालका धनाढ्य व्यापारी पशुपति मुरारका सहित १८ जना विरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बुधबार अदालतमा दायर गरिएको आरोपपत्रमा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे सहित उच्च पदमा रहेर भ्रष्टाचारमा सघाउने कर्मचारी र विभिन्न ९ कम्पनीका संचालकले नियम विपरित काम गर्दै राज्यलाई १ अर्ब भन्दा बढि रकम क्षति पु¥याएको उल्लेख गरिएको छ । महानिर्देशक घिमिरे सहित १८ जनाविरूद्ध अख्तियारले एक अर्ब २४ करोड ३५ लाख २६ हजार ६ सय ४३ बराबरको राजश्व चुहावट गरेर भ्रष्टाचार गरेको कसुरमा मुद्दा दायर गरेको हो ।
मुद्दा दायर गरिएकाहरूलाई राजश्व चुहावट गरे बराबरको फरक फरक रकम बिगो कायम गरी मुद्दा दायर गरिएको छ । ९ वटा सिमेन्ट कम्पनीले खानी दोहन गरी उत्खनन अनुमतिपत्रमा तोकिएको भन्दा बढी चुनढुंगा निकालेको उल्लेख गरेर २०७६ असार ३१ गते पेश गरिएको प्रतिवेदनमा १ अर्ब २६ करोड १९ लाख ४८ हजार क्षतिपुर्ति राजस्व उठाउनु पर्ने गरी कारबाहीको सिफारिस गरिएको थियो ।
उक्त समितिको संयोजकमा भूगर्भ विभागका महानिर्देशक, तत्कालिन उपमहानिर्देशक पदमा रहेका रामप्रसाद घिमिरे संयोजक थिए । तर पछि उनैले ति कम्पनीबाट क्षतिपुर्ति रकम लिनुको साटो २०७७ जेठ १५ गते अर्को सुपरीटेन्डेन्ट माइनिङ इन्जिनियर जयराज घिमिरेको संयोजकत्वमा अर्को समिति गठन गरेका थिए ।
समितिले ति कम्पनीहरुबाट १८ लाखमात्र जरिवाना लिएर राज्यलाई अरर्बौको राजस्व घाटा गराई भ्रष्टाचार गरेको उजुरी आयोगमा परेको थियो । उक्त कार्यमा नेपाल सरकारका अन्य कर्मचारीले सहयोग गरेका थिए । भ्रष्टाचार गरेर राज्यलाई अरर्बौ रकम हानी गरेको आरोप लागेका कर्मचारीहरूलाई एक अर्ब २४ करोड ३५ लाख २६ हजार ६४३ रुपैयाँ बराबरको बिगो माग गरिएको छ ।
बुधबार मुद्दा दायर भएको कर्मचारीको सुचिमा भू–गर्भ विभागका सुपरीटेन्डेन्ट माइनिङ इन्जिनियर जयराज घिमिरे, कानुन उप–सचिव सपना अधिकारी, उपन्यायाधीवक्ता चन्द्रकुमार पोखरेल, सिनियर डिभिजनल मेकानिकल इञ्जिनियर प्रशान्त बोहरा, सिनियर जिओलोजिस्ट धर्मराज खड्का, लेखा अधिकृत श्रीभद्र गौतम, रिसर्च अधिकृत वसन्त अधिकारी र जिओलोजिष्ट डा. सौनक भण्डारी छन् ।
स्वीकृत क्षमता भन्दा अधिक उत्खनन गरेको आरोपमा कारबाहीका लागि जरिवाना गरेको पत्राचार गरेपनि विभागको निर्देशन नमानेर ९ वटा कम्पनीले उत्खनन कार्य जारी राखेको आरोपत्रमा उल्लेख छ ।
बुधबार मुद्दा दायर गरिएका कम्पनीहरुमा सर्वोत्तम सिमेन्टका प्रबन्ध सञ्चालक विष्णुप्रसाद न्यौपाने, सिद्धार्थ मिनरल्स प्रालिका पशुपति मुरारका, मारुती सिमेन्टका शरद गोयल, अन्नपूर्ण क्वेरिज प्रालिका ऋषि अग्रवाल, उदयपुर मिनरल्स टेक प्रालिका प्रवलजंग पाण्डे, युनाइटेड सिमेन्ट प्रालिका नरेश दुगड, सोनापुर मिनरल्स प्रालिका निपेश टायल, कञ्चन क्वेरिज प्रालिका भीमबहादुर थापा क्षेत्री र दोलोमाइट चुनढुंगा प्रालिका सञ्चालक मानबहादुर श्रेष्ठविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । खानी तथा चुनढुंगा दोहन प्रकरणमा मिलेमतो गरी सरकारी राजश्व हिनामिना गरेको उनीहरुलाई आरोप लगाइएको छ ।
अख्तियारका अनुसार सर्वोत्तम सिमेन्टका सञ्चालकसँग १६ करोड ३१ लाख ८१ हजार ६ सय १६, सिद्धार्थ मिनरल्स ४९ करोड ४५ लाख ५१ हजार ६ सय ४५, मारुती सिमेन्ट २० करोड ५० लाख ६५ हजार ५ सय ७५, अन्नपूर्ण क्वेरिज ११ करोड १७ लाख २५ हजार ७ सय ५७, उदयपुर मिनरल्सका सञ्चालकसँग १ करोड ७९ लाख ७१ हजार ७ सय७६, युनाइटेड सिमेन्टसँग ९ करोड ६९ लाख ४० हजार ५ सय, सोनापुर मिनरल्ससँग ६ करोड ९८ लाख ९९ हजार ४ सय १५, कञ्चन क्वेरिजसँग ३ करोड ८ लाख ६९ हजार १ सय ५९ र डोलोमाइट चुनढुंगाका सञ्चालकसँग ५ करोड ४३ लाख २१ हजार २ सय रुपैयाँ बिगो माग गरिएको छ ।
मुद्दा दायर गरिएका कर्मचारी, कम्पनी र बिगो रकम यसप्रकार रहेको छ ।