जनगणना २०७८ मा बाँके : यस्तो छ तथ्यांक
Wednesday, January 26th, 2022, 8:05 pm
Kalpristha
जनसंख्या बृद्धिदरमा बाँके चौथो
राष्ट्रिय जनगणना २०७८ अनुसार बाँके जिल्लाको जनसंख्या ६ लाख ३ हजार ३ सय ९३ पुगेको छ । यसअघि २०६८ मा जिल्लाको जनसंख्या चार लाख ९१ हजार तीन सय १३ थियो । बाँके जिल्ला जनसंख्या बृद्धिदरमा चौथो नम्बरमा छ ।
जिल्लाको वार्षिक जनसंख्या बृद्धिदर १.९७ रहेको छ । सबैभन्दा बढी जनसंख्या बृद्धिदर भने भक्तपुरको छ । भक्तपुरको वार्षिक जनसंख्या बृद्धिदर ३.३२ छ भने रुपन्देहीको २.३ र चितवनको २.१ छ ।
बाँकेमा पुरुष २ लाख ९५ हजार ११२ जना रहेका छन् भने महिला ३ लाख ८ हजार २८१ जना रहेका छन् । यस हिसाबले पुरुषभन्दा महिला १३ हजार एक सय ६९ ले बढी छन् । जिल्लाको लैंगिक अनुपात ९५.७३ छ ।
जम्मा घरधुरी १ लाख १० हजार १३५
बाँकेमा जम्मा एक लाख १० हजार १३५ घरधुरी रहेका राष्ट्रिय तथ्यांक विभागले जनाएको छ । ती घरधुरीमा एक लाख ३१ हजार ९२७ परिवार बसोबास गरिरहेका छन् । जिल्लामा परिवारको औसत आकार ४.५७ जनाको रहेको छ । जिल्लाको जनघनत्व दुई सय ५८ रहेको छ ।
धेरै जनसंख्या हुनेमा बाँकेका तीन गाउँपालिका
देशभरका गाउँपालिकामध्ये बाँकेको बैजनाथ गाउँपालिकामा सबैभन्दा धेरै जनसंख्या रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ ले गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसंख्या भएका ५ गाउँपालिकाहरुमा बाँके जिल्लाका बैजनाथ, राप्तीसोनारी र खजुरा रहेका छन् । बैजनाथ गाउँपालिकामा जनसंखया ७०,३१५ रहेको छ । यसैगरी राप्ती सोनारीमा ६७ हजार ७८२, ६३ हजार ७४९ जनसंख्या रहेको छ ।
जिल्लाका सबै स्थानीय तहको तुलना गर्ने हो भने सबैभन्दा बढी नेपालगन्ज उप-महानगरपालिकामा १ लाख ६६ हजार २५८ र सबैभन्दा कम डुडुवा गाउँपालिकामा ४३ हजार ३९ जनसंख्या रहेको छ । यस्तै, कोहलपुरमा एक लाख २८९, जानकी गाउँपालिकामा ४६ हजार ५६३, नरैनापुरमा ४३ हजार ६९८ जनसंख्या रहेको छ ।
नेपालगन्जमा २६ हजार ४ सय ९१ घरधुरीमा ३५ हजार ५ सय १७ परिवार, कोहलपुरमा २१ हजार २५१ घरधुरीमा २४ हजार ३ सय ४६ परिवार, बैजनाथमा १५ हजार ४३९ मा १६७६५ परिवार, राप्तीसोनारमा १४ हजार ३८० घरधुरीमा १५ हजार ४९१ परिवार, खजुरामा १२ हजार २१३ घरधुरीमा १३ हजार ८८५ परिवार बसिरहेका छन् ।
यसैगरी जानकीमा ७ हजार २६३ घरधुरीमा ९ हजार १२४ परिवार, नरैनापुरमा ६ हजार ९४१ घरधुरीमा ८ हजार ६८० परिवार र डुडुवामा ६ हजार १५२ घरधुरीमा ८ हजार ११२ परिवार बसोबास गरिरहेका छन् ।