विश्व साइकलयात्रीलाई नेपालगन्जमा स्वागत
Saturday, January 29th, 2022, 7:09 pm
Kalpristha
लुधियाना पन्जाब हिन्दुस्तानका जतिन्दर सिंह र जतिन्दर सिंह विश्व साइकल यात्राको क्रममा नेपालगञ्ज आइपुगेका छन् ।
पहिलो चरणको ३ हजार किलोमिटरको साइकल यात्रा तय गरेर निस्केको १५ औं दिनमा उनीहरु महेन्द्रनगर, धनगढी भएर नेपालगन्ज आइपुगेका हुन् । साइकल यात्री द्वयलाई शनिबार एक कार्यक्रमको आयोजना गरि नेपालगन्ज साइक्लिङ क्लबले नेपालगञ्जमा स्वागत एवं सम्मान गरेको छ ।
उनीहरुलाई दुई दिने आथिथ्यता नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले आफ्नै घरमा प्रदान गरेको क्लबका सचीव प्रदीप सापकोटाले जानकारी दिए । ॅजिउँदो हुँदा रक्तदान र मृत्यु पछि अङ्गदान’ भन्ने नारा लिएर विश्व साइकल यात्रामा निस्किएका पन्जाबका दुई साइकल यात्रीले पहिलो चरणको यात्रा पन्जाब, बरेली हुँदै नेपाल प्रवेश गरि महेन्द्रनगर, धनगढी, बर्दिया, नेपालगञ्ज, लमही, लुम्बिनी, बुटवल, नारायणगढ हुँदै काठमाडौ भएर मेची पुलबाट सिलगुडी हुँदै मणीपुर भएर भुटान सम्मको यात्रा पुरा गर्ने लक्ष्य राखेको बताएका छन् ।
साइकलको माध्यमबाट नेपाल प्रवेश गरेसँगै भेटिएका साइकलेहरुसँगकोको आत्मीय सम्बन्ध र आफुहरुलाइ प्राप्त सम्मान र सद्भावले आफुहरु निकै प्रभावित र खुशी भएको साइकल यात्री जतिन्द्र सिंहद्वयले बताए ।
मानिसको मृत्यु पछि पनि मानवीय अंग काम लाग्ने र सक्रिय रहने हुँदा मानिसका अंग आँखा, कलेजो, आन्द्रा, किड्नी दानको महत्वबारे यात्रामा भेटिएका मानिसलाई जानकारी दिने र उत्प्रेरणा दिदै अगाडि बढ्ने लक्ष्यसहित यो साइकल यात्रामा निस्किएको साइकल यात्रीले बताए ।