जनताको आक्रोश : ढलानका टुक्रा उठाएर कार्यालयको गेटमै फालिदिए
Tuesday, February 1st, 2022, 8:20 pm
Kalpristha
–लिलाधर वली
घोराहीमा सडकको नालासहित फुटपाथ बनाउने जिम्मा पाएका ठेकेदारले समयमै काम नगरेपछि जनताले ठेकेदारले नाला भत्काएर सडकमा छोडेका ढलानका टुक्रा उठाएर सहरी विकास तथा भवन कार्यालयको गेटमा थुपारी दिएका छन् ।
निर्माणको जिम्मा पाएको ठेकेदारसँगै सम्वन्धीत कार्यालयको लापरवाहीले जनताले दुःख पाएको भन्दै मंगलवार कार्यालय सन्चालनको समयमा नाला निर्माणका क्रममा निर्माण व्यवसायीले भत्काएर सडकमा अलपत्र पारेका ढलानका टुक्राहरु कार्यालयको गेटमा फालिदिएका हुन् । नाला तथा सडक निर्माणमा ढिलाई हुदा सम्वन्धीत ठाउँका जनताले कति दुःख भोग्नुपर्ने रहिछ भनेर सम्वन्धीत कार्यालयका कर्मचारीहरुले महसुश गरुन भनेर गेटमै नाला निर्माणका क्रममा भत्काएका ढलानका टुक्राहरु राखी दिएको माथिल्लो भरतपुर टोल विकास सस्थाका अध्यक्ष गुरुप्रसाद आचार्यले बताए ।
‘नाला तथा फुटफात निर्माणका लागि डेढ बर्ष अघि सडकको नाला भत्काएपनि निर्माण व्यवसायीले अहिलेसम्म बनाएको छैन,’ संस्थाका अध्यक्ष आचार्यले भने,‘जसले गर्दा जनताले दिनहु धुलो खान बाध्य छन् । त्यसैमा अझ एक पटक बनाएको नाला भत्काएर सडकमा हिडडुल गर्न समेत नमिल्ने बनाएपछि हामीले त्यो उठाएर कार्यालयमै ल्याइएका हौ ।’ उनले निर्माणमा लापरवाही गर्ने ठेकेदारलाई कारवाही गर्न समेत माग गरे ।
ठेकेदारले नाला निर्माण गर्ने भन्दै भएको नाला समेत भत्काएपछि हिडडुल गर्न समस्यादेखि एक बर्षदेखि खानेपानीको पाइप जोड्न नपाएको अर्का स्थानीय दिपक आचार्यले बताए । नाला तथा सडक निर्माणका लागि भन्दै निर्माण व्यवसायीले सडकमा डोजर लगाएपछि बाटो बिग्रनका साथै खानेपानीको पाइपहरु काटिएको उनले बताए । ‘समयमै नाला निर्माण नहुँदा सडकको अवस्था मात्रै विग्रिएको छैन । घरमा डेढ बर्षदेखि खानेपानीको धारा काटिएको छ’,स्थानीय आचार्यले भने,‘खानेपानीको पानीको धारा जोडिदिन आग्रह गर्दा नाला निर्माणको काम सकेपछि भन्छ । तर निर्माण व्यवसायीले नाला निर्माणको काम नै गर्दैनन् ।’ उनले पुरानो नाला तथा सडक भत्काएर अलपत्र पार्दा नागरिकसँगै सवारी साधान चलाउन समस्या भैरहेको बताए ।
सहरी विकास तथा भवन कार्यालयले भने निर्माण व्यवसायीको अटेरीपनाका कारण नालासहितको फुटफाट निर्माणमा समस्या भएको बताए । चार महिनामा काम सक्ने गरी २०७७ चैत १ गते आत्रेय/पूणर्चन्द/बस्नेत जेभीसँग सम्झौता भएपनि विभिन्न समस्याका कारण काम पुरा हुन नसकेको सहरी विकास तथा भवन कार्यालयका इन्जिनियर नारायण ओलीले बताए ।
सम्झौता अनुसार काम नभएपछि कार्यालयले पुनः चैतसम्म सक्ने गरि सम्झौता थप गरेको छ । ‘पहिलो चरणमा चार महिनाभित्रै काम सक्ने गरि २०७७ चैत्रमा सम्झौत भएको थियो । तर कोरोना भाइरसलगायतका विभिन्न समस्याले काम गर्न समस्या भयो’,निमित्त कार्यालय प्रमुख समेत रहेका ओलीले भने,‘ जसले गर्दा पुन ः दोश्रो पटक आउने चैत्रसम्म म्याद थप गरेका छौ ।’ कार्यालयले म्याद थप गरेपनि निर्माण व्यसवायीले काम गर्न आलटाल गरेको कार्यालय प्रमुख ओलीले बताए ।
उनका अनुसार निर्माण व्यवसायीले मापदण्ड विपरित सडकको नाला निर्माण गरेपछि कार्यालयले उक्त नाला भत्काउन पठाएकाले सम्वन्धीत व्यवसायीले काम गर्न आलटाल गर्दै आएका छन् ।
कार्यालयले घोराहीको तुलसीपुरचोकेदखि-गुलरीया पार्कसम्म,शहिदगेटदेखि जिल्ला प्रशासन कार्यालयसम्म र क्याम्पस रोड अन्तर्गत मुख्य सडकदेखि महेन्द्र बहुमुखी क्याम्पससम्मको सडक निर्माणका लागि चार करोड ८१ लाख बढीमा रकममा सम्झौता भएको कार्यालयले जनाएको छ ।
उक्त सडकहरुमा प्रदेश सरकार अन्तर्गत अन्तर्गत सहरी विकास तथा भवन कार्यालयले फुटपातसहितको नाला निर्माण गर्ने र घोराही उपमहानगरपालिकाले सडक कालोपत्रे गर्ने गरी सम्झौता गरिएको छ ।