नेपालगन्जदेखि कोहलपुरसम्म ८०६ संरचना सडक क्षेत्रमा, हटाउन सकेन सडक डिभिजनले
Saturday, February 5th, 2022, 4:55 pm
Kalpristha
नेपालगन्जको सुर्खेत रोडको नेपालगन्ज-कोहलपुर सडकखण्डमा मात्रै आठ सय ६ वटा संरचनाहरु सडक क्षेत्रमा बनेका पाइएको सडक डिभिजन कार्यालय नेपालगन्जले जनाएको छ । कार्यालका अनुसार सडकको बिचभागदेखि दायाँ-बायाँ २५-२५ मिटरभित्र संरचना बनाउनेमा सर्वसाधारण मात्रै नभई १४ वटा सरकारी कार्यालयहरुसमेत छन् । १४ वटा सरकारी कार्यालयसँगै संघसंस्था र मठमन्दिर पनि सडक क्षेत्रमै छन् ।
डिभिजन सडक कार्यालय नेपालगन्जले सुर्खेत रोडकोसडक क्षेत्रको अतिक्रमण हटाउन दिएको अल्टिमेटमा कसैले पनि अतिक्रमण हटाएनन् । कार्यालयले पुस मसान्तभित्रसडकको अतिक्रमण हटाउन अनुरोध गर्दै उक्त अवधिभित्र अतिक्रमण नहटाएमा कार्यालयले नै हटाउने भन्दै सूचना जारी गरेको थियो । तर उक्त सूचनाको पालना नभएपनि सडक डिभिजनले अतिक्रमण हटाउन आलटाल गरिरहेको छ ।
सूचनामा तोकिएको समयमा अतिक्रमण हटाउँदा हुने क्षतिको जिम्मेवार सडक डिभिजन नहुने र अतिक्रमण हटाउँदा लाग्ने खर्च पनि अतिक्रमण गर्ने व्यक्तिबाट भराइने सूचनामा उल्लेख थियो ।
डिभिजन सडक कार्यालय नेपालगन्जका प्रमुख होमबहादुर एसी अतिक्रमण हटाउने विषयमा प्रशासनसँग समन्वयको प्रकृया अघि बढाइएको बताउँछन् ।
सडक डिभजन कार्यालयकै सामुन्नेसडक क्षेत्रमै भवनहरु निर्माण भइरहेका छन् । आँखैअघि सडक अतिक्रमण गरी संरचना निर्माण गरिँदा पनि सडक डिभजन मुकदर्शक भएर बसेको छ । यस्तोमा वर्षौँदेखि सडक क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचनाहरु हटाउनु सडक कार्यालयलाई चुनाति हुने सम्बद्धहरु बताउँछन् ।
अर्कोतिर अतिक्रमण हटाउन नदिन राजनीतिक दवाब पनि सुरु भएको स्रोतले जनाएको छ । नेपालगन्ज सुर्खेतरोडहाल २५ मिटर भित्र धेरै संरचनाहरु रहेको रधेरै संरचनाहरु भत्किने भएकोले त्यसरी संरचना बनाएर बसेकाहरुले रोक्नका लागिराजनीतिक दलका नेताहरुमार्फत दवाब बढाएको स्रोतको भनाइ छ ।
सुर्खेत रोडलाई ६ लेनको बनाउने भनिएपनि बिस्तार गर्ने क्रममा विवाद उत्पन्न भएपछि एडिबले काम नगर्ने डर देखाएर त्यतिबेला कतै २१-२१ मिटर त कतै त्यसभन्दा पनि कम क्षेत्रमा सडक बिस्तार गरिएको थियो । संरचना भत्काउन स्थानीय तयार नभएको र तत्कालिन विवाद साम्य पार्न जमुनाहादेखि कोहलपुरसम्म २२ किलोमिटर सडकको ६ मिलोमिटरबाहेक अरु चार लेन मात्रै निर्माण गरिएको थियो ।
सडक डिभिजन प्रमुख एसी कानुनले भनेअनुसार अतिक्रमण हटाएरै छोड्ने बताउँछन् । उनी भन्छन्, ‘अहिले नै अतिक्रमण हटाइएन भने भोली झन् अप्ठ्यारो हुँदै जान्छ । नेपालगन्जको बढ्दो सवारी चाप र बढ्दो शहरीकरणलाईपनि ध्यानमा राखेर यहाँका राजनीतिक दल, स्थानीय निकाय, प्रशासन र आम नगरवासीलेसाथ दिनुपर्छ । नभए भोली दुःख भोग्ने पनि यहीँका स्थानीयले हो ।’ यसबाहेक बतिपय स्थानमा सडक अतिक्रमणले सडक असुरक्षाको अवस्था पनि निम्त्याइरहेको छ ।
सुर्खेत रोड क्षेत्रमा सर्वसाधारण, व्यापारीदेखिसरकारी कार्यालयले नै सुर्खेत रोडको सडक क्षेत्र अतिक्रमण गरेका छन् । स्थानीय तहले नै सडक क्षेत्रमा अन्य संरचनाहरु निर्माण गरेका छन् । नेपालगन्जमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र सशस्त्र प्रहरी कार्यालयले नै सडक अतिक्रमण गरी बाउन्ड्री वाल लगाएका छन् ।
सार्वजनिक सडक ऐन २०३१ ले मुख्य राजमार्गको मध्यबिन्दुदेखि २५ मिटर दायाँ बायाँ मुख्य सडक र त्यसको दुबै तर्फ ६-६ मिटर क्षेत्र भित्रमा कुनैपनि संरचना निर्माण गर्न नदिनेगरी निषेध गर्ने एवं त्यस्ता संरचना निर्माण भएमा सडक विभागले हटाउन सक्ने व्यवस्था गरेको छ ।