अढाई वर्षसम्म पनि बसपार्कका सटरहरु खाली
Monday, February 7th, 2022, 12:47 pm
Kalpristha
बसपार्क सदुपयोग नहुँदाको परिणाम
–वीरेन्द्र जैसी
२०७६ साल असोजमा सन्चालनमा आएको नेपालगन्ज बसपार्कमा ३९ वटा सटरहरु छन् । ती सटरहरु व्यापारका लागि हुन् । बसपार्क क्षेत्रमा बनाइएका यी सटरहरु भने अहिलेसम्म भाडामा लिन व्यवसायीहरु तयार छैनन् । त्यसको मुख्य कारण हो बसपार्कमा मानिसहरुका चहलपहल नहुनु । मानिसहरुको चहलपहल नहुँदा अधिकांश सटरमा व्यवसाय गरिरहेका व्यवसायीहरुले भाडा तिर्न नसकिएको भन्दै छोडेर हिडेका छन् । हालको अवस्थामा बसपार्कका करिब १८ सटरहरु खाली रहेको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।
आन्तरिक स्रोत न्युन भएको नेपालगन्ज उप-महानगरपालिकाका लागि बसपार्क क्षेत्रका सटरहरु एक आम्दानीको स्रोत हुन् । एउटा सटरको न्युनतम ५ हजारदेखि अधिकतम १२ हजारसम्म मासिक भाडा तोकिएको छ । तर त्यहाँ व्यापारिक वातावरण बनाउन उप-महानगरपालिका असफल भएको छ । बसपार्कमा पसल चलाइरहेका डिम्याक्स थापा चहलपहल नहुँदा व्यापार नै हुन नसकेको बताउँछन् । त्यसका मुख्य कारण बसपार्कबाट मानिसहरु नचढाई बाटोबाटै चढाउने प्रवृत्ति दोषी रहेको उनको भनाइ छ ।
नेपालगन्ज उप-महानगरपालिकाले पुस २० गते बसपार्कका सटहरु भाडामा लिनका लागि १५ दिने सूचना जारी गरेको थियो । उक्त सूचनामा उल्लेखित अवधिमा एकदमै न्युन आवेदन परे । उप-महानगरपालिकाले भाडामा नगएका २४ वटा सटर भाडामा लगाउने सूचना निकालेपनि मात्र अझै १८ वाटा सटर खाली रहेका छन् । व्यापार हुने संभावना नदेखेर मानिसहरु आउन नै नचाहेका बसपार्कका व्यवसायीहरु बताउँछन् । ‘भएका पसलहरुमा माखा हम्काएर बस्नुपर्ने अवस्था देख्दादेख्दै को पसल लिन आउँछ र ?’ स्थानीय एक व्यापारीले भनिन्, ॅपहिला यहाँ व्यापारिक वातावरण बनाइदिनुपर्यो ।’
उप-महानगपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले अब केही दिनमै बसपार्कको पूणर् प्रयोगमा देखिएका बाधा हटाउन कदम चालिने बताए । सटक भाडामा नजानुका कारणहरु पहिल्याएर त्यसको समाधान गरिने उनले बताएका छन् ।
४ विगाहा १० कठ्ठा क्षेत्रफलमा फैलिएको र आधुनिक भनेर भनिएको बसपार्कमा सबै आधारभूत सेवाहरु रहेका छन् । १६ करोड १६ लाख लगानीमा निर्माण भएको बसपार्कमा १२३ ठूला बस र ५६ साना बस राख्ने क्षमता रहेको छ । बसपार्कभित्र टर्मिनल भवन, सपिङ बिल्डिङ, शौचालय, चमेना गृह, पक्की पार्किङ क्षेत्र निर्माण गरिएको छ । तर, ती सुविधाको उचित प्रयोग हुन सकेको छैन । बसपार्क भित्र भएका सटरमा व्यपार गर्नेहरु ग्राहक नआउँदा भाडा तिर्न पनि सकस भइरहेको बताउँछन् । ७० प्रतिशतभन्दा बढी यात्रुहरु बसपार्क बारिहबाटै गाडी चढ्ने गरेका यातायात कर्मचारीहरु नै बताउँछन् ।
बसपार्कबाट अधिकांश गाडीहरु खाली नै बाहिरिन्छन् । लामो दुरीका सवारीहबाहेक अन्य गाडीको टिकट काट्ने गरिएको छैन । सवारीसाधनले बसपार्क बाहिरको सडकमै पार्किङ गरेर यात्रु चढाउँछन् । एकअर्थमा बसपार्कमा हुनुपर्ने सबै कामहरु सडकमै हुन्छन् । बसपार्क क्षेत्रका कतिपय होटल व्यवसायीले पनि कमिसनमा आफ्ना पाहुनाहरुलाई गाडीमा चढाउने गरेका यातायात कर्मचारीहरु बताउँछन् । बसपार्कबाट खाली बाहिरिएका गाडीहरु कारकाँदो चोक तालिमकेन्द्रअघि घण्टौँ रोकिएर यात्रुहरु चढाउने गर्दछन् । जसका कारण सडकमा आवतजावतमा कठिनाई हुने गरेको छ भने सडक पनि गाडीहरुका कारण भत्किसकेको छ ।
बसपार्कबाट गाडी बाहिरीसकेपछि निश्चित स्थानमा पाँच मिनेट रोकेर यात्रु चढाउन र झार्नुपर्ने नियम रहेपनि बसपार्कबाट बाहिरसकेका गाडीहरुले बाहिर सडकमा आएर अर्को पार्किङस्थल बनाउँछन् । यसरी सडकमै गाडीहरु पार्किङ गरेर यात्रु चढाउने झार्ने काम नेपालगन्जको धम्बोझी चोक र कारकाँदो प्रहरी तालिम केन्द्रअघि हुने गरेको छ । धम्बोझीमा गुलरिया जाने गाडीहरु सडकमै पार्किङ गरिँदा फराकिलो सडक पनि जोखिमपूणर् हुने गरेको छ ।
एकातिर यातायात व्यवस्था अस्तव्यस्त हुने र अर्कोतिर जनताको ठूलो कर लगानी भएको संरचना सदुपयोग नहुने समस्याको समाधानतिर उप-महानगरपालिका लाग्नुपर्ने आवश्यकता देखिएको छ ।