गाउँपालिकाले काम नगरिदिएको भन्दै जानकीका भूमिहिन आन्दोलित (भिडियोसहित)
Friday, February 18th, 2022, 6:45 pm Kalpristha
बाँकेको जानकी गाउँपालिकाका भूमिहिन सुकुम्बासीहरु आन्दोलित भएका छन् । भूमि आयोगले भूमिहिनको अद्यावधिक अवस्था पठाएर सहमति पत्र नवीकरण गर्न सूचना जारी गरेकोमा उक्त सूचनालाई वेवास्ता गरी भूमिहिनको काम अड्काइदिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
भूमिहिन सुकुम्बासी समूह गठन गरी स्थानीयहरु संघर्षमा उत्रिएका छन् । स्थानीयहरुले बिहीबार जानकी गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धिताललाई ज्ञापनपत्र बुझाएका छन् । भूमि आयोगले असोज ३१ गते र कात्तिक ११ गते दुईवटा पत्र पठाएकोमा जानकी गाउँपालिकाले ती सूचनाको अवज्ञा गरेको र समय घर्काउने रणनीति अपनाएको स्थानीयहरु बताउँछन् ।
भूमि आयोगले माघ १८ गते अर्को ३५ दिने सूचना जारी गरेकोमा उक्त सूचनाको पनि म्याद सकिन लागेकोमा स्थानीयहरुले ध्यानाकर्षण गराएका छन् । स्थानीय राम घर्तीमगरले गाउँपालिकाका जनप्रतिनिधिले राजनीतिक पूर्वाग्रहका आधारमा अद्यावधिक विवरण नपाएको आशंका उत्पन्न भएको बताए ।
गाउँपालिका उपाध्यक्ष धिताल पनि अहिलेको आयोगले आफूहरुसँग समन्वय नगरेको भुमाउरो जवाफ दिन्छिन् । जबकी गाउँपालिकाका एकजना कर्मचारी अद्यावधिक विवरण तयार भइसकेको र आयोगमा पठाउने नपठाउने गाउँपालिका नेतृत्वको जिम्मा भएको बताउँछन् ।
जानकीमा सबैभन्दा बढी विवाद रहेका वडा नम्बर ४ का अध्यक्ष विश्राम वर्मा आफूलाई आयोगले पठाएका पत्रबारे जानकारी नै नभएको बताउँछन् । उनले कर्मचारीहरुले ती पत्रबारे आफूहरुलाई जानकारी नगराएको बताए । उनले हाल प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा नभएकोले उनी आएपछि ती पत्रबारे जानकारी नदिइएकोबारे सोधपुछ गरिने बताए ।
जानकी गाउँपालिकामा राजनीतिक पहुँचका आधारमा सडकमा मानिसहरुलाई बसाइएको छ । पहिले वितरण गरिएका लालपुर्जाको टुंगो नलाग्दै ती स्थानहरुमा विवाद उत्पन्न भइसकेको छ । वर्षौँदेखि भूमिहिन रहेकाहरु भने आन्दोलन र अदालतमा धाउँदै जीवन बित्न लागेको बताउँछन् । गाउँपालिकाका जनप्रतिनिधिले अहिले गठन भएको आयोगलाई असहयोग गर्ने रणनीति अपनाएको स्थानीयहरु आरोप लगाउँछन् ।