लघुकथा : कर्मको फल
Saturday, February 19th, 2022, 9:00 am
Kalpristha
-मित्र उराठी गौतम
‘ए ! गाउँलेहरु हो, गाडी पल्ट्यो झट्टै दौडिहाल ।’
यो आवाज सुनेसँगै गाउँका सबै जना दौडिहाले । गाउँलेसँगै हर्के पनि दौडियो ।
गाडी सडकबाट तल खसेको थियो । गाडीका यात्रीहरु रोइकराइ गरिरहेका थिए ।
गाउँलेहरु फटाफट उद्धार कार्यमा लागे । बलियो हर्के पनि फूर्तिसाथ उद्धारमा जुट्यो ।
कसैको मृत्यु भइसकेको, कोही गम्भीर घाइते थिए ।
धेरै मिहिनेत गरी गाउँलेहरुले मृतक र घाइतेलाई बोकेर माथि सडकसम्म ल्याइपुर्याए । सडकबाट अन्य गाडी, एम्बुलेन्समा अस्पताल पठाउने काम भयो ।
हर्केको बल र फूर्तिको सबैले प्रशंसा गरे। हर्के पनि फुरुङ्ग थियो ।
आफ्नो पतिको प्रशंसाले भुण्टी पनि मक्ख परी ।
उद्धारको काम सकेर सबै आ-आफ्नो घर फर्किए ।
‘आज त निकै पुण्य कर्म गर्यौ बुढा।सबैबाट तिम्रो प्रशंसा सुनेर मनै प्रशन्न भयो ।’ -हर्केको सह्राना गरी भुण्टीले ।
‘पुण्य कर्मको फल पनि प्राप्त भयो भुण्टी ।’ -रहस्यमय ढंगले बोल्यो हर्के।
‘हैन के फल प्राप्त भयो ?’ – भुण्टी जिज्ञासु बनि
‘आस्कोटको गोजीबाट दुई वटा सुनको औँठी निकालेर मुस्कुराउँदै हर्केले भुण्टीको अगाडि राखिदियो ।’
(अमरपुर, गुल्मी हालः तिलोत्तमा -२, रुपन्देही)