महेन्द्र पुस्तकालयका पुस्तकाध्यक्ष चौवेले दिए राजिनामा
Sunday, February 20th, 2022, 5:30 am
Kalpristha
जिल्ला पुस्तकालय समितिको बैठक बस्दै
नेपालगन्जस्थित महेन्द्र पुस्ककालयका पुस्तकाध्यक्ष सच्चिदान्नद चौवेले राजीनामा दिएका छन् । साथै उनले पुस्तकालयको नयाँ व्यवस्थापन समिति गठनका लागि जिल्ला पुस्तकालय समितिलाई अनुरोध लेखिपठाएका छन् ।
जिल्ला पुस्तकालय व्यवस्थापन समितिका संयोजक एवं जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले चौवेले २०५२ देखि हालसम्मका अडिट रिपोर्ट र पुस्तकालयका कागजपत्रसहित राजीनामा दिएको जानकारी दिए । अब केही दिनमा जिल्ला पुस्तकालय समितिको बैठक बसेर पुस्तकालयको तदर्थ समिति गठनको प्रकृया अघि बढाइने जानकारी दिए ।
महेन्द्र पुस्तकालय ०५४ सालयता व्यवस्थापन समिति विहिन छ । २०५२ सालमा समितिको अध्यक्ष भएका कन्हैयालाल टण्डनले आफ्नो कार्यकाल सकिएपछि नयाँ टिमलाई पुस्तकालय हस्तान्तरण नै गरेनन् । त्यसपछिका वर्षमा पुस्तकाध्यक्षका रुपमा चौवेले पुस्तकालयको रेखदेख र संरक्षण गर्दै आएका थिए । व्यवस्थापन समिति विहिन भएको अवस्थामा टण्डन र चौवेले नयाँ समिति गठनका लागि प्रयास नगरि विधानविपरित सन्चालन गर्दै आए । कन्हैयालाल टण्डन विधानतः स्वतः जिम्मेवारीबाट हटिसकेका छन् । चौवेले आफ्नो उमेर र स्वास्थ्यका कारण पुस्तकालय रेखदेख र सन्चालन गर्न नसक्ने व्यहोरा राजिनामामा लेखेका छन् । साथै उनले आफूले तोकिएको तलब पनि हालसम्म नलिएको उक्त तलब पनि उपलब्ध गराइनुपर्ने माग राजिनामा पत्रमा गरेका छन् ।
अब चौवेको राजिनामा र नयाँ व्यवस्थापन समिति गठनबारे जिल्ला पुस्तकालय समितिले निणर्य गर्ने समितिका सदस्यसचिव एवं जिल्ला शिक्षा विकास समन्वय समितिको कार्यालयका प्रमुख रामसुरेश यादवले जानकारी दिए ।
जिल्लामा पुस्तकालयको संरक्षण र समन्वय गर्नका लागि जिल्ला समन्वय समितिका संयोजकको संयोजकत्वमा जिल्ला पुस्तकालय व्यवस्थापन समिति रहेको छ । जसमा जिल्ला प्रशासनदेखि सरोकारवाला सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि एवं सरोकारवाला व्यक्तिहरु सदस्य रहन्छन् । उक्त समितिको सदस्य सचिवमा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रहने व्यवस्था छ ।
उक्त समितिले जिल्ला भित्रका पुस्तकालयमा उत्पन्न विवादको टुंगो लगाउन सक्ने व्यवस्था पुस्तकालय तथा सूचना व्यवस्थापन निर्देशिका २०६९ मा गरिएको छ ।