त्रिभुवन चोकमा राजाको सालिक राखिएकोमा चार दलको आपत्ति
Monday, February 21st, 2022, 6:34 pm
Kalpristha
नेपालगन्जको त्रिभुवन चोकमा राजा त्रिभुवनको सालिक स्थापना गरिएकोमा चार दलहरुले आपत्ति जनाएका छन् । विगतमा भएको सहमति विपरित चोकमा राजाको सालिक स्थापना गरिएको भन्दै सत्ता गठबन्धनमा रहेका कांग्रेस बाहेक चार दलले सो सालिक हटाउन माग गरेका छन् । उनीहरुले उक्त मागसहित बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
नेकपा माओवादी केन्द्र बाँके, नेकपा एकिकृत समाजवादी पार्टी बाँके, जनता समाजवादी पार्टी बाँके र राष्टिय जनमोर्चा बाँकेले सोमबार प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीलाई भेटेर संयुक्त ज्ञापन पत्र बुझाएका हुन् ।
उनीहरुले सालिक तत्काल नहटाइए आफुहरुले हटाउन बाध्य हुने चेतावनी दिएका छन् । उक्त ज्ञापन पत्रमा जनआन्दोलन, जनयुद्ध, मधेश विद्रोह र संघीयताका लागि भएको आन्दोलनमा सहादत प्राप्त गरेका सहीदहरुको अपमान गरी प्रहरी प्रशासनकै उपस्थितिमा सालिक राखिएकोमा आपत्ति जनाइएको छ । साथै प्रहरी प्रशासनले नहटाए आफुहरुले हटाउने र त्यस क्रममा हुने जुनसुकै घटनाको जिम्मेवार प्रहरी प्रशासन हुने पनि ज्ञापनपत्रमा उल्लेख छ ।
विगतमा पनि पटक-पटक सालिक राख्ने विषयमा विवाद हुँदा नेपालगन्ज उप-महानगरपालिकाका मेयर धवल शमसेर राणाको अध्यक्षतामा २०७७ साल कात्तिक ६ गते बसेको सर्वदलीय बैठकले उक्त स्थानमा नेपालको झण्डा र नेपालको नक्सा राख्ने सहमति गरेको थियो । निर्वाचनको मुखमा सर्वदलीय सहमति विपरित एकलौटी ढंगले जिल्लामा सामाजिक सद्भाव विगार्ने नियतका साथ सो सालिक स्थापना गरिएको चार दलको दावी छ ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी खत्रीले सो सालिक स्थापना गरिएको सम्बन्धमा प्रशासनको पनि ध्यानाकर्षण भएको जनाउँदै उपमहानगरपालिका र मेयर राणासंग कुन निणर्यबाट स्थापना गरिएको हो भनि सोधपुछ गरिएको बताए । उनले प्रशासनले आफ्नो तरिकाले सो समस्याको समाधान निकाल्ने पनि उनले आश्वासन दिएका छन् ।
ज्ञापत्र पत्र बुझाउन नेकपा माओवादी केन्द्रका नेपालगन्ज नगर समितिका अध्यक्ष रतन शाही, जनता समाजवादी पार्टी बाँकेका सचिव राजेन्द्र विश्वकर्मा र नगर अध्यक्ष श्रवण कुमार यादव, एकीकृत समाजवादी नेपालगन्ज नगरका अध्यक्ष सरोज तामाङ र राष्टिय जनमोर्चा नेपालका जिल्ला उपाध्यक्ष जगदिश ढकाल लगायत नेता कार्यकर्ताहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।