आर्थिक आपत्कालमा रहेको श्रीलंकामा अब इन्धन पनि नपाइने
Tuesday, February 22nd, 2022, 1:17 pm
Kalpristha
आर्थिक आपत्कालमा रहेको श्रीलंकामा अब इन्धन पनि नपाइने भएको छ । श्रीलंकाली सरकारले इन्धन आपूर्ति गर्न रकम अभाव भएको घोषणा गरेको छ । श्रीलंकामा इन्धन स्टेशनहरु सुख्खा भएको छन् । विदेशी मुद्राको सञ्चिती समेत शून्य भएपछि श्रीलंका इन्धन खरिद गर्न नसक्ने अवस्थामा पुगेको हो ।
श्रीलंकाका उर्जामन्त्री उदय गम्मनपिलाले दुई पटक इन्धन आईपुगे पनि त्यसको ढुवानीको रकम भुक्तानी दिने पैसा समेत नभएको बताएका छन् ।
गत साता त्यहाँको सरकारी रिफाइनरी सिलोन पेट्रोलियम कर्पोरेसनले इन्धन आपूर्तिका लागि रकम नभएको बताएको थियो । सो संस्था २०२१ मा मात्रै साढे २१ करोड डलर ऋणमा रहेकोछ । यो संकट समाधानका लागि तेलको भन्सार दर कटौती गर्ने वा चर्को मूल्य वृद्धि गर्नुभन्दा अर्को विकल्प नरहेको बताइएको छ ।
गत महिना भारतले श्रीलंकालाई ९० करोड डलर उपलब्ध गराएको थियो भने ४० हजार मेट्रिक टन तेल पनि दिएको थियो । आर्थिक मन्दीको असर अरु क्षेत्रमा पनि पर्न थालेको छ ।
खानेकुरासहित अन्य अत्यावश्यक वस्तुहरुको पनि अभाव चुलिन थालेको छ भने मुद्रास्फिति दर २५ प्रतिशतमाथि पुगिसकेको छ ।
-एजेन्सीहरुको सहयोगमा