साइकल यात्राबाट समाजसेवा गर्दै तेजबिक्रम
Wednesday, February 23rd, 2022, 1:41 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ११ फागुन
लक्ष्मी शाहीको उपचारमा सहयोग गर्ने उद्देश्यले लिएर राप्रपा नेता तेजबिक्रम शाहले पश्चिम महेन्द्रनगर देखि नेपालगन्जसम्म साइकल यात्रा गर्ने भएका छन ।
सामाजिक अभियन्ता एवम् राजनीतिकमी शाहले फागुनको १६ देखि साइकल यात्रा सुरु गर्ने बताए ।
खजुरा गाउँपालिका–२ ए गाउँनिवासी लक्ष्मी शाहीको दुइ वर्ष अघि ब्रेन टियुमरको अप्रेसन भएको थियो । उनको थप उपचारको लागि आर्थिक समस्या भएपछि आफुले साइकल यात्रा मार्फत आर्थिक सहयोग जुटाउन पहल गरिरहेको बताए । कञ्चनपुरको गडाचौकी देखि नेपालगन्जसम्मको २ सय २५ किलोमिटर साइकल यात्रा गर्ने रुट तय भएको छ ।
प्र्रत्येक किलोमिटर बराबर १ हजारका दरले आर्थिक सहयोग लिने शाहको योजना छ । जसअनुसार २ लाख २५ हजार रकम संकलन हुने अवस्था रहेको शाहले बताए । सामाजसेवी शाहले साइकल यात्रामा सहयोगका लागि आग्रह गरेका छन ।
उनले भने, ‘मैले केहिदिन अघि उनको परिवारसँग भेटेको थिए । उपचारमा निकै समस्या भएको जानकारी पाए । त्यसका लागि कसरी सहयोग जुटाउने भन्ने तयारी गरिरहेका बेला साइकल यात्रा गर्ने निर्णय गरेको हु ।’ उनको साइकल यात्रा फागुनको १६ गते कञ्चनपुरको गडाचौकीबाट सुरु हुनेछ । १७ गते नेपालगन्ज आएर साइकल यात्राको समापन हुने शाहले बताए ।