खुमबहादुर स्मृति भलिबल प्रतियोगितामा दाङका सबै पालिका सहभागी
Wednesday, February 23rd, 2022, 1:12 pm
Kalpristha
खुमबहादुर खड्का स्मृति पुरुष खुला भलिवल प्रतियोगिता-२०७८ मा दाङका १० वटै पालिकाहरुको सहभागिता हुने भएको छ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्काको स्मृतिमा यही फागुनको १६ गतेदेखि २२ गतेसम्म घोराहीस्थीत जिल्ला समन्वय समितिको खुल्ला मैदानमा हुन थालेको प्रतियोगितामा जिल्लाका १० वटै पालिकाका टिमहरुको सहभागीता रहने भएको हो ।
आयोजक खुमबहादुर खड्का स्मृति खेलकुद समितिका संयोजक राजु आचार्यका अनुसार फागुन १० गतेसम्म दाङका दुई वटा उप-महानगरपालिका, एक नगरपालिका र सात वटा गाउँपालिकाको टिमहरु प्रतियोगितामा सहभागीताका लागि टिम दर्ता भएका छन् । आचार्यका अनुसार प्रतियोगिताको खेल तालिका फागुन १२ गते बिहीबार प्रकाशित गरिने छ ।
प्रतियोगिता नजिकिदै गर्दा आवश्यक तयारीलाई अघि बढाइएको आयोजक खुमबहादुर खड्का स्मृति खेलकुद समिति दाङले जनाएको छ । जिल्लामै पहिलोपटक हुन थालेको सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगितालाई सभ्य र भव्य बनाउनका लागि समितिले तयारीस्वरुप काम सुरु गरेको संयोजक आचार्यले जानकारी दिएका छन् ।
जिल्लामा सबैभन्दा ठूलो धन राशीको प्रतियोगिताको विजेता टिमले नगद एक लाख ७५ हजार रुपैयाँ र उपविजेता हुने टिमले नगद ८७ हजार पाँच सय रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने एकजना खेलाडीलाई नगद पाँच हजार एक सय रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।
लिगकम नकआउटको आधारमा खेलाइने खेलमा प्रत्येक टिमले दुई जना जिल्ला बाहिरका खेलाडीहरुलाई सहभागी गराउन पाउने व्यवस्था गरिएको खुमबहादुर खड्का स्मृति खेलकुद समितिका संयोजक आचार्यले बताएका छन् । प्रतियोगिताले खेलाडीहरुको हौसला बढाउनेदेखि गाउँस्तरमा रहेका खेलाडीहरुको प्रतिभा पहिचानका लागिसमेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री समेत रहेका स्वर्गीय नेता खुमबहादुर खड्काको २०७४ चैत १६ गते उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थीत एपोलो अस्पतालमा ६७ बर्षको उमेरमा निधन भएको थियो ।