लघुकथा : भुपू मायालु
Saturday, February 26th, 2022, 8:15 pm
Kalpristha
–वसन्त अनुभव
‘हैन के भयो तँलाई ? किन यसरी झोक्राएको ? अनुहार पनि निन्याउरो छ ।’ एकजना साथी उसको नजिक आएर भन्यो ।
‘ऊ मेरो जीवनमा नआओस् भनेर हरपल सचेत रहेँ । ऊ बाट कोषौँ कोष टाढा रहने प्रयत्न गरिरहेँ । तर सबै प्रयत्न बेकार ।’ दाँत किट्दै उसले भन्यो ।
‘के बेतुकको कुरा गरेको ? पागल त भैनुस्?’ आश्चर्य मान्दै अर्को साथीले भन्यो ।
‘पहिले त्यसरी जबर्जस्ती मेरो सुन्दर जीवनमा प्रवेश गरेर गरेको अन्तर्घात कम थियोे र, फेरि मुन्टेकी । जीवन र मरणको दोसाँधमा पुराएर रमिता हेरेको दृश्य आज पनि आँखा अघि चलचित्र झैँ नाँचिरहेको छ ।’ ऊ एकोहोरो पागल झैँ बर्बराई रह्यो ।
‘हैन आज यसमाथि देवता चढेका छन् कि भूत हँ ? अघि देखि एकोहोरो आफॅमात्र कुरा गरिरहेको छ ।’ अर्को साथीले ठट्टा गर्दै भन्यो ।
‘प्लिज यार होशमा आइज। साच्चि आज तँलाई के भएको छ ?’ पहिलो साथीले झक्झक्याउँदै भन्यो ।
‘भन न यार तैले कसको कुरा गरेको ? फेरि को आएको छ र तेरो जीवनमा ?’ दोस्रो साथीले मलिन अनुहार बनाउँदै भन्यो ।
‘अरू को हुन्थ्यो र यार ? उहीँ क्या त भुपु मायालु । फेरि रुप बदलेर मुन्टेकी छ । म त दिक्क भैसके यार ।’ जेबबाट कागज निकालेर देखाउँदै उसले भन्यो । कागजमा ओमिक्रोन पोजेटिभ लेखिएको थियोे ।