विद्युत् प्राधिकरणले उपलब्ध गराएन मिटर
Monday, February 28th, 2022, 6:00 am
Kalpristha
जनप्रतिनिधिहरु प्राधिकरणले समयमै विद्युत मिटर खरिद प्रकृया अघि नबढाउनु मुख्य कारण रहेको बताउँछन् । साथै, मिलोमतोमा मिटरको कृत्रिम अभाव सृजना गरिएको पनि उनीहरुको आरोप छ ।
राप्ती सोनारी गाउँपालिका–३ मा विद्युत् विस्तार भएको एक वर्ष भन्दा बढी भइसकेको छ । तर, स्थानीयहरुले अझै बत्ती बाल्न पाएका छैनन् । विद्युत घरसम्मै पुग्दा पनि स्थानीयहरुलाई ‘हात्ती आयो पुच्छर अड्क्यो’ जस्तो अनुभूति भएको छ । विद्युत बाल्न नपाउनुको कारण हो विद्युत् मिटरको नपाउनु ।
गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ मा विद्युत् पुगेपनि मिटर नआउँदा स्थानीयबासीहरुको बिजुली बत्तीको उज्यालो देख्ने सपना पूरा भएको छैन । गाउँपालिकाको वडा नम्बर ३ मा मात्रै एक हजार दुई सय दुई घरधुरीमा विद्युत् पुगेपनि त्यसको ५० प्रतिशत घरमा मात्रै विद्युत् पुगेको छ । वडा नम्बर ३ का अध्यक्ष गंगाराम थारु नागरिकहरुलाई विद्युत् सुविधा पु¥याउने जिम्मेवारी रहेको विद्युत् प्राधिकरणले मिटर नै उपलब्ध नगराउन सक्नु खेदजनक भएको बताए । उनले आफूलगायत गाउँपालिका अध्यक्ष नै विद्युत् प्राधिकरण डिभिजन कार्यालय र विद्युत् वितरण केन्द्र नेपालगन्जमा पुगेर डेलिगेसन दिएपनि माग सुनुवाई नभएको बताए । राप्तीसोनारीका जनप्रतिनिधिहरु गत माघमा नेपालगन्ज आएर विद्युत् मिटरका लागि दवाब दिएका थिए ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कान्छा थारु आफ्नो वडामा करिब एक हजार ६ सय घरधुरीमा विद्युत् मिटरको माग गरिएपनि हालसम्म ५० प्रतिशत घरधुरीमा मात्रै मिटर जडान गरिएको बताए । स्थानीयवासीहरुले मिटरका लागि आफूहरुसँग गुनासो गर्ने गरेका उनले बताए । तर, प्राधिकरणले नै उपलब्ध नराइदिँदा आफूहरु लाचार भइरहेको उनले बताए ।
‘गाउँमा हामीले विद्युत् पु¥याइसक्यौँ । प्राधिकरणलाई स्तान्तरण पनि गरिसक्यौँ । तर मिटर बक्स जडान नभएर जनताले बत्ती बाल्न नपाउनु लाजमर्दो कुरा हो,’ वडा अध्यक्ष थारुले भने । थारुले रकम भुक्तानी गरेका स्थानीयहरुले पनि नपाएको अवस्थामा नयाँ ग्राहकको फाइल नै वितरण केन्द्रले लिन नमानिरहेको बताए ।
विद्युत् प्राधिकरण नेपालगन्जका प्रमुख दिवाकर प्याकुरेल मिटर बक्सको खरिदमै ढिलाईका कारण मिटर आउन विलम्ब भएको बताउँछन् । पछिल्लो समय केही मिटर आएको र पहिला पेश भएका फाइलहरुलाई प्राथमिकतामा राखेर मिटर वितरण भइरहेको बताए । थप मिटरका लागि डिभिजन कार्यालयमार्फत प्रयास भइरहेको उनले बताए ।
विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई खरिद प्रक्रियाको स्वभाविक समयावधिका कारण मिटर आउन ढिलाई भएको बताए । हाल भने प्राधिकरणले मिटर खरिद गरेर ल्याइसकेको बताउँदै भट्टराईले पालोअनुसार देशभरका केन्द्रहरुमा पठाइरहेको बताए । नेपालगन्ज वितरण केन्द्रमा आवश्यक मिटरहरु माग भइआएअनुसार उपलब्ध गराइने उनले बताए । अब करिब दुई हप्ताभित्रै सबै ग्राहकले मिटर पाइसक्ने उनले दाबी गरे ।
तर जनप्रतिनिधिहरु प्राधिकरणले समयमै विद्युत मिटर खरिद प्रकृया अघि नबढाउनु मुख्य कारण रहेको बताउँछन् । साथै, मिलोमतोमा मिटरको कृत्रिम अभाव सृजना गरिएको पनि उनीहरुको आरोप छ ।

दिवाकर प्याकुरेल
प्रमुख, विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्र
मिटर बक्सको खरिदमै ढिलाईका कारण मिटर आउन विलम्ब भएको हो । पछिल्लो समय केही मिटर आएको छ । पहिला पेश भएका फाइलहरुलाई प्राथमिकतामा राखेर मिटर वितरण भइरहेको छ । थप मिटरका लागि क्षेत्रीय कार्यालयमार्फत प्रयास गरिरहेका छौँ ।

सुरेशबहादुर भट्टराई
प्रवक्ता, नेपाल विद्युत् प्राधिकरण
खरिद प्रक्रियाको स्वभाविक समावधिका कारण मिटर आउन ढिलाई भएको हो । हाल भने प्राधिकरणले मिटर खरिद गरेर ल्याइसकेको छ । पालोअनुसार देशभरका केन्द्रहरुमा पठाइरहेका छौँ । नेपालगन्ज वितरण केन्द्रमा आवश्यक मिटरहरु माग भई आएअनुसार उपलब्ध गराइनेछ । अब करिब दुई हप्ताभित्रै सबै ग्राहकले मिटर पाइसक्नेछन् ।