आज महाशिवरात्री
Tuesday, March 1st, 2022, 9:40 am
Kalpristha
विक्रम बुढाक्षेत्री
आज फागुन महिनाको चतुर्दशी । यस दिनलाई हरेक वर्ष महाशिवरात्रीकोको रुपमा मनाइँदै आइरहेको छ । हिन्दू धर्म ग्रन्थ अनुसार कृष्णपक्षको चतुर्दशीको मध्यरात महाशिवरात्रिको रूपमा मनाइने गरिन्छ ।
भगवान शिवको प्रमुख र पवित्र पर्वको रुपमा रहेको महाशिवरात्रि अथवा शिवरात्री हिन्दूहरूको प्रमुख चाड हो । भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।
यस पर्वलाई सम्पूर्ण कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोषका रुपमा शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ ।
ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्रि पर्व कृष्ण चतुर्दशीमा मनाइन्छ । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दूधको अभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अंग मानिन्छन् ।
शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनिन्छ । शिवरात्रि पूजामा व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ भने जागरण कालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ । पूजन वा शिवार्चनमा इशान मूर्तिलाई दूधले स्नान गराइन्छ ।
सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्रि कालमा भगवान शंकर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए भन्ने धार्मिक विश्वास रहेको छ । प्रलयकालमा यसै दिन प्रदोषको समयमा भगवान शिव ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्दछन् भन्ने पनि विश्वास रहेको छ ।
शिवरात्री कसरी मनाइन्छ
शिवरात्रीको दिन व्रत उत्सव मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन् । कतिपय व्यक्तिले यसदिन आफूमा भएका नकारात्मक पक्षलाई परित्याग गर्ने चलन पनि रहि आएको छ ।
यस पर्वमा विशेष गरी ‘ॐ नमः शिवायू’, ‘जय महाकाल’ मन्त्र जप्ने गरिन्छ । पर्वका दिन उपवास गरी ‘ॐ नमः शिवायू मन्त्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको हिन्दू धर्मावालम्बीहरु बताउँछन् ।
यस दिन माटोको भाँडोमा पानी भरेर, त्यसमाथि बेलपत्र, आँक, धतूरोको फुल, चामल आदि हालेर ‘शिवलिङ्ग’मा अर्पण गरिन्छ । यदि नजीकमा शिवालय छैन भने, शुद्ध गिलो माटोबाटै शिवलिंग बनाएर त्यसलाई पूजा गर्ने विधान छ ।
राती जागरण बसेर शिवपुराणको पाठ र कथा सुन्नु प्रत्येक व्रतालुको धर्म मानिन्छ । व्रतको भोलिपल्ट बिहान सबेरै जौ, तिल, खीर र बेलपत्रको हवन गरेर व्रत समाप्त गरिन्छ ।
बिहानै देखि भत्तजनको घुइँचो
महाशिवरात्रीको मयममा अधिंकाश शिव मन्दिरमा बिहानै देखि भत्तजनको घुइँचो देख्नि सकिन्छ । विशेष गरी नेपालगन्जमा रहेको जुँगे महाराजको रुपमा परिचित शिवजीको मुर्तीमा पूजा गर्नका लागि रातिदेखि नै मानिसहरुको ठूलो भिड रहेको छ । भिडका कारण सदरलाइनको बाटामो प्रहरीले सवारी साधान आवातजावतमा रोक पनि लगाएको छ ।
यसका अलवा शिवसात्रीको समयमा जिल्लाका विभिन्न स्थानमा कार्यक्रमको आयोजना पनि गरिनुका साथै झाँकीसहितको ¥यालीको पनि आयोजना गर्ने तयारी रहेको छ ।
यस दिन विशेषगरी ब्रह्माकुमारी ईश्वरिय विश्व विद्यालयले शिव भगवानको प्रतिकस्वरुप बाजा, झाँकीसहितको ¥यालीले नगर परिक्रमा गर्ने विद्यालयकी उपाध्यक्ष ब्रम्हाकुमारी दुर्गा बताउँछिन् ।
साथै महाशिवरात्रीको अवसरमा विकृति मौलाएको ब्रह्माकुमारी दुर्गा बताउँछिन् । उनी शिवरात्री पर्वलाई हामीले आफ्नो जीवनको सुधारात्मक पक्षको रुपमा लिनु पर्ने उनको तर्क छ । दुर्गा शिवरात्रीमा आफूमा भएका कष्ठकर वस्तुलाई शिव बाबालाई अप्रण गरेर आफ्नो जीवनलाई सकारात्मक तर्फ लानु पर्ने बताउँछिन् ।