स्थानीय चुनावका लागि म्यादी प्रहरी राखिने
Tuesday, March 1st, 2022, 10:07 am
Kalpristha
देशभर एकैपटक हुने स्थानीय चुनावको सुरक्षाका लागि म्यादी प्रहरी राखिने भएको छ । प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयसँग समन्वय गरेर एक लाख बढी म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको हो ।
देशैभर एकैपटक हुने चुनावमा सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीले मात्रै अपुग हुने भएपछि म्यादी प्रहरी पनि राख्ने तयारी गरिएको हो । विगतका चुनावमा पनि म्यादी प्रहरी राखिएका थिए ।
यसपालि करिब एक महिनाका लागि म्यादी प्रहरी राखिने छ । म्यादी प्रहरीलाई जवान सरह सेवा, सुविधा दिने तयारी छ ।
म्यादी प्रहरीले २४ हजार तलब पाउँछन् भने पोशाक भत्ता पाँच हजार र खाजा सुविधा पाउने गृह मन्त्रालय स्रोतले जनाएको छ ।
म्यादी प्रहरी छनौट गरेपछि करिब १० दिन प्रशिक्षण दिने तयारी छ ।
सरकारले २०७९ वैशाख ३० मा स्थानीय तह निर्वाचन गर्ने गरी मिति तोकेको छ । निर्वाचन आयोगले चुनावका लागि आवश्यक तयारी तीव्र रूपमा अगाडि बढाइरहेको छ ।
स्थानीय चुनावमा भाग लिन ८० दलले दर्ता निवेदन दिइसकेका छन् । चुनावअघि सबै जनतालाई कोरोना खोप लगाइसकेको सुनिश्चितता गर्न पनि सरकारलाई आयोगले आग्रह गरिसकेको छ ।