सह–महामन्त्री राठौरलाई कारबाही गर्नु पर्ने सर्त राख्दै संस्थापनका नेता
Friday, March 4th, 2022, 7:30 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० फागुन
नेपाली कांग्रेस बाँके सभापति पदका लागि पुनः हुन लागेको निर्वाचनमा संस्थापन पक्षले कसलाई सहयोग गर्ने भन्ने बारेमा अझै निर्णय गर्न सकेको छैन । आज शुक्रबार हुन लागेको दोस्रो चरणको मतदानमा नारायण प्रसाद गौडेल र बादशाह कुर्मीबिच प्रतिस्पर्धा हुदैछ ।
पहिलो चरणमा पहिलो र दोस्रो स्थान ल्याएका गौडेल र कुर्मी बिच आज प्रतिस्पर्धा हुने लागेको हो । पहिलो चरणमा तेस्रो भएका सुरेन्द्र हमालले कसलाई सहयोग गर्ने भन्ने बारेमा अझै निर्णय नभएको संस्थापनक एक नेताले बताए ।
संस्थापनबाट सुरेन्द्र हमाललाई आधिकारिक उम्मेदवारका रुपमा निर्वाचनमा प्रतिस्पर्धा गराइएको थियो । तर केन्द्रको निर्णयलाई नेपाली कांग्रेसका सह–महामन्त्री किशोर सिंह राठौर लगायतको समुहले स्वीकार गरेको थिएन । सुरुआत देखी बादशाह कुर्मीलाई अगाडी सारिएकोले संस्थापनको आधिकारिक उम्मेदवार बादशाह कुर्मी नै भएको भन्दै कुर्मीलाई संस्थापनको उम्मेदवार भनिएको थियो ।
आज हुने निर्वाचनमा हमालले कसलाई सहयोग गर्छन भन्ने कुराले नतिजालाई प्रभावित गर्ने देखिन्छ । हमाल लगायतक केहि नेता संस्थापनको आधिकारिक निर्णय नमान्ने सह–महामन्त्री किशोर राठौरलाई केन्द्रले कारबाही गर्नु पर्ने माग राखिरहेका छन । ति नेताले भने, ‘संस्थापनको आधिकारिक उम्मेदवार भनेर पार्टी सभापतिले सुरेन्द्र हमाललाई भन्नु भयो । तर केन्द्रको निर्णय राठौर जीले मान्नु भएन । अब उहाँलाई कारबाही के हुने हो त्यसको पनि हामी पर्खाइमा छौं ।’
केन्द्रले राठौरलाई कारबाही गर्ने सर्तमा बादशाहलाई सहयोग गर्न आफुहरु तयार भएको संस्थापनका ति नेताले बताए ।
पुर्व मन्त्री गजेन्द्र हमालले यसअघि नै राठौरले आधिकारिक निर्णयलाई नमानेको कारण उनलाई कारबाही हुनु पर्ने धारणा सार्वजनिक गरिसकेका छन ।