बाँके कांग्रेसको सभापतिमा गौडेल
Friday, March 4th, 2022, 8:41 pm
Kalpristha
पहिलो चरणमा बादशाह र सुरेन्द्रको मत जोड्दा ८ सय ५२ मत संस्थापन पक्षको नेताले पाएका छन् । संस्थापन पक्षबाट एउटा उम्मेदवार वा दोस्रो चरणमा एकले अर्कोलाई सहयोग गरेको अवस्थामा पनि जित सहज थियो । तर व्यक्तिगत स्वार्थको लडाँइका कारण संस्थापनले सभापति गुमाउनु पर्यौ ।
कमल खत्री
नेपालगन्ज, २० फागुन
पार्टीमा सालिन संगठनकर्ताको छबी बनाएका नारायण प्रसाद गौडेल नेपाली कांग्रेस बाँकेको सभापतिमा निर्वाचित भएका छन् ।
दोस्रो चरणको निर्वाचनमा गौडेलले संविधान सभा सदस्य बादशाह कुर्मीलाई ९७ मतले पराजित गर्दै सभापतिमा निर्वाचन भए । १३औं महाधिवेशनमा गौडेल पहिलो चरणको निर्वाचनमा तेस्रो भएका थिए । किरण कोइराला पहिलो, निरञ्जन सिंह सिजापति दोस्रो र गौडेल तेस्रो स्थानमा थिए । दोस्रो चरणको निर्वाचनमा गौडेलले कोइरालालाई सहयोग गरेपछि उनी सभापतिमा विजयी भएकी थिइन् ।
शुक्रबार जिल्ला समन्वय समिति बाँकेमा भएको निर्वाचनमा गौडेलले ७ सय ६० मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी बादशाहले ६ सय ६३ मत ल्याए । १ हजार ४ सय ३९ मतमा १६ मत बदर भएका थिए ।
जितपछि गौडेलले संगठनलाई थप बलियो बनाउँदै लग्ने बताएका छन् । उनले भने, ‘मेरो जित भनेको कांग्रेसका सम्पूर्ण नेता तथा आमकांग्रेस जनको जित हो । अब संगठनलाई थप बलियो बनाउँदै स्थानीय निर्वाचनमा पार्टीलाई सफलता दिलाउनु मेरो मुख्य काम हुनेछ ।’
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भएको बाँके जिल्ला निर्वाचनमा संस्थापन पक्षका उम्मेदवारलाई बलियो प्रतिस्पर्धीको रुपमा मानिएको थियो । संस्थापन पक्षकै नेताहरुबीच दुई धारमा विभाजन भए । त्यसको फाइदा कोइराला समूहका उम्मेदवार गौडेललाई भयो । पहिलो चरणको निर्वाचनमा पहिलो भएका गौडेलले ५ सय ६९, दोस्रोमा रहेका बादशाहले ५ सय ३८ र सुरेन्द्र हमालले ३ सय १४ मत प्राप्त गरेका थिए ।
कांग्रेसको विधान अनुसार पहिलो चरणको निर्वाचनमा सभापति पदको उम्मेदवारले जित हासिल गर्न खसेको मतको ५१ प्रतिसत ल्याउनु पर्ने हुन्छ । तर कसैले पनि पहिलो चरणमा उक्त मत ल्याउन सकेनन् । दोस्रो चरणको निर्वाचनमा तेस्रो स्थानमा रहेका सुरेन्द्र हमालले कसलाई सहयोग गर्छन भन्ने कुराले सभापतिको टुङगो लाग्ने समीकरण सृजना भएको थियो । सुरेन्द्र र बादशाह संस्थापन पक्षकै उम्मेदवार हुन । सुरेन्द्रले कुर्मीलाई दोस्रो चरणमा सघाँउने अनुमान गरिएको थियो । तर सुरेन्द्रले दोस्रो चरणको निर्वाचनमा गौडेललाई साथ दिए ।
सुरुवातमा मौन बसेका सुरेन्द्रले पछि गौडेलको पक्षमा खुलेका थिए । बाँकेका राजनीतिमा शुक्रबार एउटा नयाँ परिदृश्य देखिएको थियो । बाँके कांग्रेसमा हमाल र कोइराला परिवारबिच बिरलैमात्र सहकार्य भएको देखिन्छ । गौडेल कोइराला समूहका उम्मेदवार हुन् । तर शुक्रबार हमाल परिवारले भने गौडेललाई सहयोग गरेको थियो ।
संस्थापनको आधिकारिक उम्मेदवारको विषयलाई लिएर सुरेन्द्र हमाल र बादशाह कुर्मीबीच चुनावको अन्तिम दिनसम्म मत भिन्नता रह्यो । जसका कारण संस्थापनका स्थानीयदेखि केन्द्रसम्म नेता दुई धु्रवमा विभाजित भएका थिए ।
नेपाली कांग्रेसका सह–महामन्त्री किशोर सिंह राठौरले बादशाहलाई आधिकारिक उम्मेदवार भएको दाबी गरिरहँदा केन्द्रीय सदस्य मैकुलाल वाल्मिकीले संस्थापनको आधिकारिक उम्मेदवार सुरेन्द्र हमाल भनेर घोषणा गरे । पछि दुई समूहले छुटा–छुटैं पत्रकार सम्मेलन गरेर आधिकारिकता आफ्नो पक्षमा भएको दाबी गरिरहे । जसको फाइदा गौडेलले उठाए ।
संस्थापन पक्षमा नेताहरुबीच आपसी द्वन्द्व हुँदा केहि स्वतन्त्र प्रतिनिधि भने गौडेलको नजिक भएका थिए । पहिलो चरणमा बादशाह र सुरेन्द्रको मत जोड्दा ८ सय ५२ मत संस्थापन पक्षको नेताले पाएका छन् । संस्थापन पक्षबाट एउटा उम्मेदवार वा दोस्रो चरणमा एकले अर्कोलाई सहयोग गरेको अवस्थामा पनि जित सहज थियो । तर व्यक्तिगत स्वार्थको लडाँइका कारण संस्थापनले सभापति गुमाउनु प¥यो ।
केन्द्रको ध्यान बाँकेमा
नेपाली कांग्रेस बाँकेको निर्वाचनले केन्द्रका नेताको ध्यानसमेत तानेको छ । संस्थापन पक्षको तर्फबाट सह–महामन्त्री किशोर सिंह राठौर, केन्द्रीय सदस्य एवम् गृह मन्त्री बालकृष्ण खाँड, लुम्बिनी प्रदेशका पर्यटन, ग्रामिण, सहरी विकास मन्त्री डिल्ली चौधरीलगायतका नेताहरु आफ्नो समूहलाई बलियो बनाउन लागेका थिए ।
कोइराला समूहबाट पूर्वमन्त्री एवम् केन्द्रीय सदस्य संजय गौतम, लुम्बिनी प्रदेश सभापति अमर पुनलगायतका नेताहरु नेपालगन्ज आएर आफ्नो समूहलाई बलियो बनाउन लागेका थिए । पूर्वमन्त्री संजयले बाँके जिल्ला वडा कमिटीसम्म पुगेर गौडेलको पक्षमा मत मागेका थिए ।