हिमालयन शेर्पा खप्तड गोल्ड कपको सेमीफाइनलमा
Saturday, March 5th, 2022, 9:19 pm
Kalpristha
हिमालयन शेर्पा क्लबले शनिबार सहजै जित हासिल गरेपछि पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मोफसलको सर्वाधिक धनराशीको प्रतियोगितामा हिमालयन शेर्पाले धनगढी रंगशालामा नव जन जागृति युवा क्लबलाई ४–० ले हरायो । पहिलो खेलमा जित हासिल गरेपछि शेर्पा क्वाटरफाइनलमा पुगेको हो ।
हिमालयनले क्वाटरफाइनलमा आयोजक सुदुरपश्चिम–११ विरुद्ध खेल्नेछ ।
हिमालयनले ३० औं मिनेटमा विकास मेराग्लियाको गोलबाट अग्रता बनाएको थियो । उनले डेब्यु खेलमै हिमालयनका लागि गोल गरेका हुन ।
इटालीमा व्यावसायिक फुटबल खेल्दै आएका नेपाली मुलका विकासले च्यासल युथ क्लबबाट ए डिभिजन लिग खेलेका थिए ।
खेलको ४१ औं मिनेट र ५७औं मिनेटमा उलिच सिवेले गोल गरेका थिए ।
त्यसपछि खेलको ८१ औं मिनेटमा पूर्ण बहादुर गुरुङले गोल गर्दै हिमालयनलाई ४–० ले सफलता दिलाए ।
आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।