पल शाहलाई थप १२ दिन हिरासतमा राखिने
Sunday, March 6th, 2022, 8:10 pm
Kalpristha
अभिनेता पल शाह (पूर्णविक्रम शाह) लाई थप १२ दिन अनुसन्धानका लागि राखिने भएको छ । नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोग लागेका शाहलाई थप थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको हो ।
यसअघि सात दिन थुनामा राखेर अनुसन्धान गरेको प्रहरीले थप अनुसन्धानका लागि भन्दै समय माग गरेको थियो ।
नाबालिग गायिकाले जाहेरी दिएपछि अभिनेता शाहलाई प्रहरीले खोजि गरेको थियो । गत फागुन १५ मा शाह तनहुँ प्रहरीमा पुगेका थिए । शाहले १७ वर्षीया गायिकामाथि पटक–पटक बलात्कार गरेको पीडित पक्षको आरोप छ ।
गायिकाका तर्फबाट परिवारले दिएको उजुरीमा शाहले माया–प्रेमको जालमा फसाएर बलात्कार गरेको आरोप छ ।
तनहुँ प्रहरीका अनुसार शाहले पोखरा, तनहुँ, चितवन लगायतका स्थानमा बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।
गायिकाले करिब ३ महिनायता गीत–संगीतमा ध्यान दिन नसकेको र यसबारे बुझ्दा घटनाका बारेमा जानकारी पाएको जाहेरीमा उल्लेख छ । पीडित गायिका र शाहबीच एक गीतको म्युजिक भिडिओ सुटिङमा भेट भएको र त्यही बेला उनीहरूले फेसबुक र फोन नम्बर आदान प्रदान गरेका थिए ।
त्यसपछि उनीहरूको निरन्तर भेटघाट र संवाद हुन थालेको जाहेरीमा उल्लेख छ ।
शाहले देखावटी माया–प्रेम गरेको बहाना गरी भिडिओ सुटिङ तथा अन्य भेटघाटको क्रमलाई बढाउँदै लगी धेरै नै रेखदेख, हेरचाह गरेजस्तो गर्दै आएको उजुरीमा उल्लेख छ ।
यस्तै म्युजिक भिडिओ सुटिङ गर्न पोखरा, चितवन, बाग्लुङ, तनहुँ समेतका स्थानमा काम सकेर होटलमा बास बस्दा पटक–पटक बलात्कारको प्रयास गरेको उल्लेख छ ।