रणनीति योजना बनाउँदै निर्माण व्यवसायी संघ
Monday, March 7th, 2022, 3:21 pm
Kalpristha
निर्माण व्यवसायको क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्दै व्यवसायीको हकहितका निम्ति विभिन्न रणनीति योजना बनाउँदै बाँके निर्माण व्यवसायी संघको साधारण सभा सम्पन्न भएको छ ।
नेपालगन्ज स्थित संघको आफ्नै कार्यालय परिसरमा भएको २१औं वार्षिक साधारण सभामा उपस्थित निर्माण व्यवसायी तथा निर्माण व्यवसाय क्षेत्रका नेताहरुले राज्यले व्यवसायीलाई कानुनी रुपमा थुप्रै समस्या सृजना गरेको धारणा व्यक्त गरे ।
राज्यले अवलम्बन गरेको नीतिका कारण निर्माण व्यवसायीले सहज ढंगले काम गर्न सक्ने वातावरण नभएको बाँके निर्माण व्यवसायी संघका अध्यक्ष टेक बहादुर खड्काले बताए ।
उनले भने,‘राज्यले यस व्यवसायका लागि बनाएको नितिमा केहि सुधार गर्न आवश्यक छ । प्रतिस्पर्धा गरेर काम गर्नका लागि राज्यले छुट दिएको छ । आफनो क्षमता अनुसार हामीले काम गरेका छौं । तर राज्यले बनाएको नितिले निर्माण व्यवसायीको पेशालाई संरक्षण गर्न सकेको छैन ।’
अध्यक्ष खड्काले विविध कारणले बार्षिक साधारण सभा समयमा गर्न नसकेको क्षमा मागेका छन । उनले भने,‘कोभिड–१९ कोरोना भाइरस, विभिन्न राजनिति दलको निर्वाचनका कारणले वार्षिक साधारण सभा गर्न केहि ढिलाई भएको हो । आगामीदिनमा त्यसलाई सुधार गर्दै अगाडी बढनेछौं ।’
साथै अध्यक्ष खड्काले कार्यालय भवन निर्माणमा सहयोग गर्ने अग्रज व्यवसायीलाई धन्यवाद दिए । उनले भने, ‘आज हामीले आफनै भवनमा वार्षिक साधारण गरेको छांै । खुसी लागेको छ । यातायात कार्यालय एउटा भवनमा भएको बैठकबाट हामीले कार्यालय बनाउने निर्णय गरेका थियौं । त्यसमा आज हामी सफल भएको छौं । त्यसको सम्पूर्ण श्रेय अग्रज पदाधिकारी र सम्पूर्ण व्यवसायीलाई जान्छ ।’
साधारण सभाको उद्घाटन समारोहमा बाँके निर्माण व्यवसायी संघका महासचिव भुपाल वलीले यस क्षेत्रमा रहेका समस्याहरुका बारेमा अवगत गराएका थिए । ३० प्रतिशत भ्याट रकम बिलबाट सोझै कटी भएपनि सम्बन्धीत फर्म कम्पनीको नाममा जम्मा नभई सम्बन्धीत अफिसकै नाममा जम्मा हुने, स्थानीय ठुला आयोजना पिक्यु टेन्डर, एलसिबी टेन्डर, आइसिबी टेन्डर निकाल्ने हुँदा यहाँका सत प्रतिसत व्यवसायीहरु बेरोजगार बन्ने खतरा, राजनितिक दलहरुले भाग बन्डामा स्ट्रक्चर सम्बन्धी निर्माण कार्यपनि उपभोक्ता समिति मार्फत गराउँदा साना व्यवसायीहरु काम बिहीन हुनु परेको जस्ता समस्याहरु रहेको महासचिव वलीले आफनो प्रतिवेदनमा उल्लेख गरेका छन् ।
सार्वजनिक खरिद नियमावली शंसोधन भएता पनि राज्य क्षेत्रबाट प्रमाणीकरण नहुनु, आयोजनालाई आवश्यक पर्ने कच्चा पदार्थ निकाशी ढुवानी गर्न मेसिन औजारको प्रयोग गर्न नपाउनु, राष्ट्रिय निकुञ्जको कारणले ढुङगा, बालुवा, मोरङ तथा गिटी ल्याउन समस्या हुनु लगायतका समस्याका बारेमा पनि साधारण सभामा छलफल भएको थियो । साधारण सभाको उद्घाटन सत्रमा नेपाल निर्माण व्यवसायी संघका केन्द्रीय सदस्य मेगजंग शाह, निर्माण व्यवसायी लुम्बिनी प्रदेशका वरिष्ट उपाध्यक्ष सुरेन्द्र चन्द, लुम्बिनी प्रदेश उपाध्यक्ष यज्ञ बहादुर बस्नेतलगायतले निर्माण व्यवसायीको हक हितको बारे चर्चा गर्दै यस व्यवसायलाई विश्वसनीय बनाउने बारेमा पनि आफ्नो भनाइ राखेका थिए ।