लुम्बिनीमा माओवादी केन्द्रको २ सय ५३ सदस्यीय समिति
Wednesday, March 16th, 2022, 9:27 pm
Kalpristha
लुम्बिनी प्रदेशमा मोओवादी केन्द्रको दुई सय ५३ सदस्यीय समिति गठन भएको छ । बुधबार माओवादी केन्द्र प्रदेश कमिटीका पदाधिकारीको टुंगो लागेको हो ।
यसअघि प्रदेश अध्यक्षमा सुदर्शन बरालको नाममा सहमति भएपनि अन्य पदाधिकारीमा कुरा नमिल्दा प्रदेश कमिटी घोषणा हुन सकेको थिएन ।
बुधबार कपिलवस्तुमा सम्पन्न माओवादी केन्द्र प्रदेश कमिटीको प्रथम पूर्ण बैठकले लुम्बिनी प्रदेश सरकारका पूर्वसामाजिक विकास मन्त्री समेत रहेका गुल्मीका सुदर्शन बरालको अध्यक्षतामा दुई सय ५३ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको हो ।
प्रदेश कमिटी उपाध्यक्षहरुमा बर्दियाका दुर्गा थारु, दाङका लुमाकान्त न्यौपाने (सागर) र रोल्पाका बीरबहादुर खत्री, सचिवमा प्युठानका कृष्ण अधिकारी (प्रकाश) चयन भएका छन् ।
सहसचिवहरुमा बाँकेका अकलबहादुर बम, पाल्पाकी पार्वती बिक र कपिलवस्तुका काशीराम यादव तथा कोषाध्यक्षमा रुपन्देहीका निर्दोष अली चयन भएका छन् ।
नवनिर्वाचित पदाधिकारीलाई माओवादी केन्द्रका नेता वर्षमान पुन, लुम्बिनीका इन्चार्ज चक्रपाणी खनाल लगायतले सपथ ग्रहण गराएका छन् ।