२५ शै्याको नगर अस्पतालदेखि निःशुल्क स्वास्थ्य बीमा
Sunday, May 8th, 2022, 5:47 pm
Kalpristha
नेपाली कांग्रेस कोहलपुर बाँकेले कोहलपुर नगरपालिकाभित्र स्थायीरुपमा बसोबास गरेका व्यक्तिहरुमा जटिल तथा दीर्घरोग देखिए नेपाल सरकारले प्रदान गर्ने ५ हजारमा थप २ हजार दिने बताएका छन् ।
कांग्रेसको घोषणापत्रमा सरकारले प्रदान गर्दै आएको ५ हजारमा नगरपालिका आफंैले २ हजार रुपैयाँ थपेर ७ हजार सहुलियत प्रदान गर्ने उल्लेख गरिएको छ । कोहलपुर नगरपालिकाभित्र रहेका सबै वडाहरुम उप–स्वास्थ्यचौकी स्थापना गरी कार्यान्वयनमा ल्याइने बताइएको छ ।
कोहलपुर नगरपालिकामा कम्तिमा पनि २५ शै्याको नगर अस्पतालको स्थापना गरिने, नगरभित्रका स्वास्थ्य चौकीहरुको स्तरवृद्धि गरी प्राथमिक स्वास्थ्य केन्द्रकारुपमा विकास गरिने, नगरभित्र बसोबास गर्ने गरिब, विपन्न, असाहय, अशक्त, अपांगता, मुक्त कमैया, सुकुम्बासी र दलित परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिने कांग्रेसको घोषणापत्रमा उल्लेख छ ।
यस्तै ६० वर्ष माथिका ज्येष्ठ नागरिक, अपांगता, दीर्घरोगी, द्वन्द्वकालका घाइतेहरु तथा एकल महिलाहरुका लागि व्यवस्थित स्वास्थ्य कक्षको निर्माण गरी तत्काल उपचार गर्ने व्यवस्थालाई कार्यान्वयनमा ल्याइने उल्लखे छ ।
कोहलपुर नगरपालिका–२ प्रेमनगरमा अवस्थित नगर स्वास्थ्य शाखामा हाल कार्यरत डाक्टर दरबन्दी संख्यालाई आवश्यकताअनुसार दरबन्दी थप गर्दै स्तरवृद्धिका लागि आवश्यक बजेटको व्यवस्था गरिने छ । महिला स्वास्थ्य स्वयम्सेविकाहरुको मासिक भत्ता वृद्धि गरिने पनि घोषणापत्रमा उल्लेख छ ।
कोहलपुर नगरपालिकामा कांग्रेसका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार पूर्णप्रसाद आचार्यले कोहलपुर मेडिकल कलेजसँग समन्वय गरी स्वास्थ्य सेवालाई सहुलियत रुपमा उपचार गर्ने व्यवस्थाको पहल गरिनेसमेत बताएका छन् ।