बाँकेमा जनप्रतिनिधि छान्न १ लाख ६२ हजारले मतदान गर्दै
Friday, May 13th, 2022, 11:25 am
Kalpristha
आसन्न स्थानीय तहको निर्वाचनका लागि आज देशभरमा निर्वाचन हुँदैछ । स्थानीय निर्वाचन–२०७९ का लागि एक करोड ७७ लाख ३३ हजार सात सय २३ जनाले मतदान गर्नेछन् ।
देशमा रहेको ६ महानगरपालिका, ११ उप–महानगरपालिका, दुई सय ७६ नगपालिका र चार सय ६० गाउँपालिका गरी सात सय ५३ स्थानीयतहसहित ६ हजार ६ सय ८० वडामा जनप्रतिनिधि चयन गर्न निर्वाचन हुँदैछ । जसका लागि देशभरमा ८७ लाख ४१ हजार पाँच सय ३० जना महिला, ८९ लाख ९२ हजार १० जना पुरुष र अन्य एक सय ८३ जनाले मत दिनेछन् ।
लुम्बिनी प्रदेशमा भने जनप्रतिनिधि चयनका लागि महिला २० लाख ९० हजार ९९ जना, पुरुष २० लाख सात सय ९९ जना र अन्यमा दुईजनाले मतदाता रहेका छन् ।
बाँकेमा रहेको आठ वडा स्थानीय तहमा जनप्रतिनिधि चयन गर्नका लागि तीन लाख २९ हजार चार सय ७३ जना मतदाता रहेका छन् । जसमा महिला एक लाख ६२ हजार एक सय १७ जना, पुरुष एक लाख ६७ हजार तीन सय ४९ जना र अन्यमा सातजना रहेका छन् ।
बाँकेमा रहेको स्थानीय तहमध्ये नेपालगन्ज उप–महानगरपालिकाका लागि १७ जनाले प्रमुख पदमा प्रतिपर्धा गर्दैछन् छन् भने नौजनाले उप–प्रमुखको पदका लागि प्रतिपर्धा गर्ने निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै कोहलपुर नगरपालिकाका लागि १४ जनाले प्रमुख र १० जनाले उप–प्रमुखमा उम्मेदवारी दिएका छन् । साथै जानकी गाउँपालिकामा अध्यक्ष पदका लागि १४ जना र उपाध्यक्ष पदका लागि १० जना, खजुरा गाउँपालिकामा अध्यक्ष पदका लागि आठजना र उपाध्यक्ष पदका लागि ६ जना, डुडुवा गाउँपालिकामा अध्यक्ष पदका लागि सातजना र उपाध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी रहेको छ ।
त्यसैगरी बैजनाथ गाउँपालिकामा अध्यक्ष पदका लागि आठजना र उपाध्यक्ष पदका लागि पाँचजना, नरैनापुर गाउँपालिकामा अध्यक्ष पदका लागि चारजना र उपाध्यक्ष पदका लागि पाँचजना र राप्ती सोनारी गाउँपालिकामा अध्यक्ष पदका लागि ५ जना र उपाध्यक्ष पदका लागि ६ जनाले प्रतिपर्धा गर्दैछन् ।
निर्वाचनलाई सहज र सुरक्षित बनाउन निर्वाचन आयोगले कडाई गरेको छ भने अपांगता भएका व्यक्ति, सुत्केरी र ज्येष्ठ नागरिकका लागि भने सहजरुपमा मतदान दिने प्रक्रिया मिलाइएको छ ।