३५ लाख लुटपाटमा प्रहरीसमेत संलग्न
Saturday, June 11th, 2022, 8:29 pm
Kalpristha
लैनचौर स्थित ब्याडमिन्टन कोर्टबाट ३५ लाख लुटेको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरीको संगित विद्यालयमा कार्यरत सहायक हवल्दार किशोर लुइटेल र दाङको घोराही उप–महानगरपालिका–१० नारायणपुर घर भएका सुदन नेपाली उर्फ अशोक छन् । २५ वर्षका सुदन नेपालीलाई जिल्ला प्रहरी कार्यालय दाङको सहयोगमा भालुवाङबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
सिन्धुली घर भएका सहायक हवल्दार लुँइटेलले आत्मसमर्पण गरेका हुन् । प्रहरी सहितको समुहले लैनचौरको व्याडमिन्ट कोर्टस्थित खाजा घरमा सस्तोमा सुन किन्न भनेर व्यापारीलाई बोलाएर ३५ लाख लुटेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । जेठ ८ मा भएको सो लुटमा संलग्न रहेको आरोपमा अहिलेसम्म ४ जना पक्राउ परेका छन् ।
वैशाख १८ मा जिल्ला प्रहरी परिसर काठमाडौंले नुवाकोटको दुप्चेश्वर घर भएका २५ वर्षीय पेम्बा तामाङ र दाङको बंगलाचुली घर भएका ३४ वर्षीय सालिकराम नेपालीलाई पक्राउ गरेको थियो । पक्राउ गरिएका सालिकराम नेपाली प्रहरी हवल्दार हुन् । उनि प्रहरी वृत मालिगाउँमा कार्यरत छन् ।
लुटमा मानव बेचविखन व्यूरोमा कार्यरत प्रहरी पनि संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । तर, जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरीको पहिचान खुलाउन अस्विकार गर्दै आएको छ । आरोपीहरुमाथी डाँकाचोरी सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको एसपी मैनालीले जानकारी दिए ।
त्यसैगरी प्रहरी हुँ भन्दै पैसा असुलेको आरोपमा एक युवक पक्राउ परेका छन् । दाङमा प्रहरीको सई हुँ भन्दै पैसा असुली गरेको आरोपमा घोराही उप–महानगरपालिका– १३ का २५ वर्षीय अर्जुन थापा मगर पक्राउ परेका हुन् ।
थापाले घोराही उपमहानगरपालिका– १४ मा विभिन्न पसलमा आफू प्रहरीको सई भएको भन्दै धम्काएर पैसा असुल्ने (माग्ने) गरेका प्रहरीले जनाएको छ ।
बिहीबार राति सई हुँ भन्दै बजारमा पैसा माग्दै हिँडेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख (एसपी) सुरेशप्रसाद काफ्लेले बताए ।