सिकलसेल नियन्त्रणमा स्थानीय प्रमुखद्वारा प्रतिबद्धता
Thursday, June 30th, 2022, 5:10 pm
Kalpristha
बाँकेका स्थानीय निकायका प्रमुखहरुले सिकलसेल एनिमिया र थालेसेमिया रोग नियन्त्रण गर्न प्रतिबद्धता जनाएका छन् । थारु समुदायमा जनस्वास्थ्य समस्याकारुपमा रहेको बंशानुगत सिकलसेल एनिमिया र थालेसेमिया रोग नियन्त्रणका लागि बिहीबार नेपालगन्जमा स्थानीय निकायका प्रमुखहरुले प्रतिबद्धता जनाएका हुन् ।
स्वास्थ्य कार्यालय बाँकेले बिहीबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा उनीहरुले प्रतिबद्धता जनाए । सिकलसेल तथा थालेसेमिया रोग नियन्त्रणका लागि समुदायका सबै बालबालिकाको स्क्रिनिङ गरेर उपचार र त्यसको व्यवस्थापनमा स्थानीय सरकारले पहल गर्ने बताएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरी, उप-प्रमुख सीता कार्की, राप्ती सोनारी गाउँपालिकाका प्रमुख तप्त पौडेल, डुडुवा गाउँपालिकाका उपाध्यक्ष शाहिदा बानो, नरैनापुर गाउँपालिकाका कार्यबहाक प्रमुख जयन्तीदेवी श्रीवास्तव, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहलगायतको सहभागीतामा उक्त कार्यक्रम गरिएको थियो ।
बाँकेको थारु बाहुल्यता रहेको कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका र बैजनाथ गाउँपालिकामा सिकलसेल तथा थालेसेमियाको प्रभाव बढी छ । कोहलपुर नगरपालिकाले ल्याव राखेर त्यही स्क्रिनिङ गर्दै आएको छ भने राप्ती सोनारी र बैजनाथ गाउँपालिकामा ल्याव छैन ।
राप्ती सोनारी भने स्वास्थ्य कार्यालयले नमूना संकलन गरेर सिकलसेल तथा थालेसेमियाको चेकजाँच गरिरहेको छ ।
सकलसेल तथा थालेसेमिया विज्ञ डा. राजन पाण्डेले पालिकाहरुले आफ्नो अस्पतालमा ल्याव राख्ने र थालेसेमियाका बिरामीका लागि चाहिने औषधि तथा चेकजाँचमा पालिकाले सहयोग गर्ने हो भने बिरामीलाई धेरै राहत हुने बताए ।
सरकारले सिकलसेलका बिरामीलाई उपचार खर्चवाफत एक लाख दिने गरेको छ । तर थालेसेमियाका बिरामीलाई भने उपचार खर्च दिने नगरेको पाण्डेले बताए ।
दुवै रोग उस्तै-उस्तै खाले र जनस्वास्थ्य समस्याकैरुपमा रहेकाले स्थानीय सरकारले यस्ता विरामीलाई उपचारमा सहयोग पुर्याउनु पर्ने डा पाण्डेको भनाइ छ ।
तस्बिर : स्वास्थ्य पेज