सामुदायिक विद्यालयमा शिक्षकको चरम लापरबाही
Monday, July 25th, 2022, 3:12 pm
Kalpristha
मंगलप्रसाद माविमा सरकारी कोषबाट तलब पाउने २१ सहित ५३ शिक्षक कार्यरत रहेकोमा सोमबार विहान १०.३० बजेसम्म चारजनामात्र शिक्षकले हाजिर रजिष्टरमा उपस्थिति जनाएको पाइयो ।
नेपालगन्ज उप–महानगरपालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयका शिक्षकहरुको आफूखुसी मनोमान गर्ने गरेको पाइएको छ । नगरभित्र रहेका सामुदायिक विद्यालयमा शिक्षकहरुको चरम लापरबाही देखिएको हो ।
यसै सन्दर्भमा नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सोमबार सामुदायिक विद्यालयहरुको आकस्मिक निरीक्षण गरेका छन् । शैक्षिक सुधारलाई पहिलो प्राथमिकतामा राखेका प्रमुख विष्टले शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापालाई लिएर आकस्मिक निरीक्षण गर्न सामुदायिक विद्यालय पुगेका हुन् ।
निरीक्षणका लागि विभिन्न विद्यालयमा पुगेको प्रमुखसहितको टोलीले विद्यालयमा शिक्षकहरुले आफूखुसी गरेको पाइयो । जसमा शिक्षकहरु समयमै विद्यालयमा उपस्थित नभएको, आफुखुशी विदामा बसेको, हाजिर नगरेकोलगायतका कमजोरी भेटिएको प्रमुख विष्टले कालपृष्ठलाई बताए ।
प्रमुखको टोली सोमबार बिहान रानी तलाउ नजिक रहेको महेन्द्र माध्यमिक विद्यालयमा पुग्दा शिक्षकहरु समयमा उपस्थित नै नभएको पाइयो । महेन्द्रमा १८ जना शिक्षक कार्यरत छन् । जसमध्ये सोमबार बिहान १०.१० बजेसम्म ८ जना शिक्षकमात्रै विद्यालयमा उपस्थित भएको पाइएको छ ।
यसैगरी मंगलप्रसाद माविमा सरकारी कोषबाट तलब पाउने २१ सहित ५३ शिक्षक कार्यरत रहेकोमा सोमबार विहान १०.३० बजेसम्म चारजनामात्र शिक्षकले हाजिर रजिष्टरमा उपस्थिति जनाएको पाइयो ।
मंगलप्रसाद मावि र महेन्द्र माविको तुलनामा राम्रो देखिएपछि नेपालगन्ज कन्या माध्यामिक विद्यालयमा भने निरीक्षण टोलीले धन्यवाद दिएर फर्कियो । कन्या माविमा १३ जना शिक्षक कार्यरत रहेकोमा एकजना स्वीकृत विदामा बसेको र अन्य सबै उपस्थित भएको पाइएको शिक्षा शाखा प्रमुख थापाले जानकारी दिए ।
सम्पूर्ण शिक्षक कर्मचारी समयमै उपस्थित भएको, विद्यालयको चौरमा सुनसान देखिएको, शिक्षकहरुले नियमित कक्षा सञ्चालन गरेको पाइएपछि कन्या माविलाई निरीक्षण टोली धन्यवाद दिएर फर्केको हो ।

.
आकस्मिक निरीक्षणपछि नगर प्रमुख विष्टले विद्यालयमा अनुपस्थित शिक्षक तथा कर्मचारीलाई आवश्यक कारबाही प्रक्रिया अघि बढाउन शिक्षा शाखा प्रमुख थापालाई निर्देशन दिएका छन् ।
‘भौतिक पूर्वाधारतर्फ कुनै पनि चिन्ता नगर्नुस्,’ निरीक्षणका क्रममा नगर प्रमुख विष्टले भने, ‘शिक्षकहरु शैक्षिक गुणस्तर सुधारमा ध्यान दिएर लाग्नुहोस् ।’
शिक्षा शाखा प्रमुख थापाले पहिलो चरणमा निरीक्षणको क्रममा शिक्षकको उपस्थितिमात्रै हेरिएको बताउँदै नियमित समयमै शिक्षकको उपस्थितिले पनि विद्यालयको शैक्षिक वातावरण सुधार हुने भएकाले पहिलो अनुगमन शिक्षक उपस्थितिमा केन्द्रीत भएको बताए ।
नगर प्रमुखको निर्देशन अनुसार, अनुपस्थित शिक्षकहरुलाई आवश्यक कारबाहीका लागि तत्कालै स्पष्टीकरण सोध्ने शाखा प्रमुख थापाले जानकारी दिए ।
नगर प्रमुख विष्टले नगरका सम्पूर्ण विद्यालयमा आकस्मिक खालको अनूगमन तथा निरीक्षण सोमबारदेखि सुरु भएको भन्दै जुनसुकै समयमा जुनसुकै विद्यालयमा पनि हुन सक्ने बताए ।
दोश्रो चरणमा शिक्षक उपस्थितीसँगै, विद्यार्थीको उपस्थिति र अन्य शैक्षिक अवस्थामा केन्द्रीत भएर अनूगमन तथा निरीक्षण हुने नगर प्रमुख विष्टले बताए ।

.