बालापुरमा डिप ट्युवेलको उद्घाटन
Saturday, August 27th, 2022, 7:03 pm
Kalpristha
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले बाँकेको राप्तीसोनारी ८ बालापुरमा सिचाईकालागि निर्माण गरीएको डिप ट्युवेलको उद्घाटन गरेका छन् ।
मन्त्री अथकले समृद्ध तराई मधेस सिंचाई विशेष कार्यक्रम अन्तर्गत १ करोड लागतमा निर्माण गरीएको डिप ट्युवेलको उद्घाटन गरेका हुन् ।
ट्युवेल उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अथकले राप्तिसोनारीलाई कृषी र पर्यटन क्षेत्रको विकास गर्दै लगिने बताए । उनले सिचाई सुबिधापछि बालापुर क्षेत्रलाई अर्गानिक तरकारी उत्पादन केन्द्रको रुपमा विकास गर्ने लक्ष्य राखिएको बताए ।
बाँके राष्ट्रिय निकुञ्जको बफर जोन भित्र पर्ने सो क्षेत्रमा वन्यजन्तुबाट हुने सक्ने जोखिमबाट सचेत हुनुपर्ने उल्लेख गर्दै मन्त्री अथकले सो क्षेत्रमा उत्पादित अर्गानिक कृषी उपज कोहलपुर र नेपालगन्जको तारे होटलमा बिक्रि गर्न सकिने धारणा राखे ।
जनप्रतिनिधीहले बिकासका ढोका खोलिदिने काम गर्नुपर्ने बताउँदै उहाँले बिकासलाई स्थानिय जनताले सदुपयोग गर्न सक्नुपर्नेमा मन्त्री अथकले जोड दिए ।
बालापुर क्षेत्रमा डिप ट्युववेल, बिद्यालय भवन, तटबन्ध लगायतका संरचना निर्माणका लागी पहल गर्नुभएका मन्त्री अथकले राप्तीसोनारी ८ नम्बर वडालाई समेट्ने गरि ११ किलोमिटर लामो रिङरोड निर्माणका लागी समेत पहल भईरहेको उनले जानकारी गराए ।
बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्दै आएका मन्त्री अथकले आफु जनप्रतिनिधीको रुपमा रहँदा वा नरहे पनि एक राजनैतिक नेतृत्वका हिसावले जनताको विकास चाहनालाई पुरा गर्न अहोरात्र खटिरहने प्रतिबद्धता व्यक्त गरे ।
आफ्नो मन्त्री र सांसदको पदाअवधि छोटो रहेको र फेरी पनि जनप्रतिधी बन्न सक्ने तर्फ संकेत गर्दै उहाँले बाँकी कामहरु आगामी कार्याकालमा समेत ईमान्दारीता पुर्वक पुरा गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा प्रदेश सभा सदस्य पार्वती पुन उषा, राप्तीसोनारी वडा नम्बर ८ का अध्यक्ष सालिकराम डाँगी लागयतले संघिय सांसद र मन्त्रीको रुपमा अथकले सो क्षेत्रको बिकासका लागी महत्वपुर्ण योगदान गरेको बताएका थिए ।
१ करोड लागतमा निर्माण सम्पन्न भएको सिंचाई आयोजनाले बालापुर गाउँका १ सय ५० बढि किसानको झण्डै ९० विगाह जमिनमा सिचाई सुविधा पुग्ने बताईएको छ । आकासे पानीको भरमा सिचाई गर्न बाध्य बालापुरका किसानहरुलाई डिप ट्युववेल सिंचाई आयोजनाले निकै राहात भएको स्थानिय हिम लाल डाँगीले बताए । उनले मुश्किलले १ बाली मात्रै खेती हुने सो स्थानमा अव सहजै ३ बालीसम्म खेती गर्न सक्ने अवस्था रहेको बताए ।