क्यान्सर रोग पिडितका सारथी बन्दैं राजन
Sunday, August 28th, 2022, 7:13 pm
Kalpristha
कमल खत्री
खजुरा, १२ भदौं
ब्लड क्यान्सर पिडित बालक गिरिराज श्रेष्ठलाई राजन विश्वकर्माको पहलमा आर्थिक सहयोग गरिएको छ । आइतबार क्यान्सर केयर राजन विश्वकर्मा एशोसियसनले गिरिराजको परिवारलाई १ लाख १० हजार दुई सय रुपैयाँ रकम हस्तान्त्र गरेको छ ।
उदयपुर बेलका नगरपालिका वडा नम्बर ४ राजन विश्वकर्मा चार वर्ष अघि ब्लड क्यान्सर भएको थियो ।
उपचार पछि क्यान्सर रोगलाई गर्दै स्वास्थ भएपछि उनले क्यान्सर पिडितलाई आर्थिक सहयोग गर्दै आएका छन् । आफुले ब्लड क्यान्सरको उपचार गर्दा पाएको दुख, कष्टलाई सम्झदैं आफुले पाएको नयाँ जीवनलाई मानवीय सेवामा लगाएको बताउँछन् राजन । उनले भने ‘गिरिराजको परिवारलाई दिएको रकम मेरो व्यक्तिगत होइन ।
थुप्रै मानिसहरुबाट प्राप्त गरेको सहयोग रकम हो । क्यान्सरको उपचार गराउँदा निकै आर्थिक, मानसिक समस्या हुन्छ । त्यसमा सबैले थोरै भएपनि सहयोग गरे ठुलो रकम जम्मा हुन्छ ।’
कोहलपुर हवलदारपुर निवासी चार वर्षिय गिरिराजको भारतमा उपचार भैरहेको छ । उनको उपचारमा सहयोग गर्ने उद्देश्यले आइतबार राजन विश्वकर्माले गिरिराजका हजुरबुबा राम कुमार श्रेष्ठ र कोहलपुर नगरपालिका वडा नम्बर १४ का अध्यक्ष नम बहादुर आलेमगरलाई उक्त रकम हस्तान्त्र गरे ।
वडा अध्यक्ष नम बहादुर आलेमगरले गिरिराजको उपचारका निम्ति आर्थिक सहयोग गरिदिएकोमा राजन र उनको टिमलाई धन्यवाद दिए । उनले भने,‘हाम्रो वडावासीलाई आएर आर्थिक सहयोग गरिदिनु भएकोमा धन्यवाद । यस्तो मानवीय कार्य थोरैले मात्र गर्छन । उहाँहरुको अभियानले थप सफलता पाउँदै जाओस ।’
गिरिराजको उपचारमा वडाको तर्फबाट सहयोग गर्ने तयारी गरेको वडाअध्यक्ष आलेमगरले बताए । गिरिराजका हजुरबुबा राम कुमार श्रेष्ठले भावुक हुँदंै आर्थिक सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिए ।
ब्लड क्यान्सर रोग सम्बन्धी जनचेतना जगाउँदैं मेचीकाली यात्रामा निस्किएका राजनले उपचार क्रममा आफुले थुप्रै समस्याको सामना गर्नु परेको बताए । भारत नयाँ दिल्ली स्थित गंगाराम अस्पतालमा उपचार गर्दा ४० लाग्ने भएपछि आफु नेपाल फर्किएको उनले बताए ।
नेपालमा आएर शिक्षण अस्पतालमा एक वर्ष उपचार गरेपछि आफु निको भएको उनले सुनाए । ब्लड क्यान्सरका उपचार सेवा निकैं भएको कारण शिक्षण अस्पतालमा उपचार गराउँदा पनि ८५ लाख खर्च भएको उनले बताए । त्यसमा उनलाई साथीहरुले १५ लाख सहयोग गरेका थिए ।
उपचार गरेर निको भएपछि आफुले ब्लड क्यान्सर पिडितलाई सहयोग गर्ने कार्य सुरु गरेको राजनले बताए । अहिले सम्म १० जनालाई राजनले आर्थिक सहयोग गरिसकेका छन् । यसअघि उनले बाँकेकी डिना परियारलाई १ लाख ५० हजार सहयोग गरेका थिए । तर कोभिडको समयमा डिनाको मृत्यु भयो ।
संस्थागत रुपमा आर्थिक सहयोग गर्ने अभियानलाई बलियो बनाउन उनले ८ महिना अघि संस्था दर्ता गरेर काम गरिरहेका छन् । काठमाडौं कपनमा रहेको क्यान्सर केयर राजन विश्वकर्मा एशोसियसनमा १६ जना युवाहरुले काम गर्छन् । क्यान्सर पिडितलाई उपचारमा सहयोग गर्नको निम्ति गाउँगाउँमा गएर आर्थिक सहयोग जुटाउँछन् ।
त्यसमा स्वयसेवकले आर्थिक रकम संकलनमा सहयोग गर्ने गरेका छन् । संस्थाको अध्यक्षका रुपमा उनले आफैं नेतृत्व गरेका छन् । आइतबार राजनसँगै संस्थाको सदस्य आशिष विश्वकर्मा पनि कोहलपुर आएर आर्थिक सहयोग गरेका थिए । महाकालीसम्मको यात्रामा निस्किएका राजनलाई आइतबार गिरिराजको परिवारले भावुक हुँदैं धन्यवाद दिईरहेका थिए ।
उनको यस्तो मानवीय कार्य देखेर सहयोग हस्तान्त्र गर्नेबेला अरुले राजनको तारिफ गरे । ब्लड क्यान्सर पिडित बालक गिरिराजका काका किशोरले क्यान्सर रोग पिडितहरुका लागि राजनले भगवानको रुपमा काम गरिरहेको बताए ।
किशोरले भने, ‘हाम्रो समाजमा अझै मानवियता हराएको रहेनछ । कत्ति जना हामीले नचिनेको व्यक्तिले आर्थिक सहयोग उठाएर हिडेको देखे । तर उनीहरुले हामीलाई सहयोग गरेनन । आज हामीले नचिनेको मानिसले आएर आर्थिक सहयोग गर्नु भएको छ । उहाँ हाम्रो लागि भगवानको रुपमा आउनु भएको व्यक्ति हो ।’