मन्त्री अथकद्वारा नरैनापुरको सुख्खा क्षेत्रको निरीक्षण
Monday, August 29th, 2022, 7:22 pm
Kalpristha
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ले बाँकेको नरैनापुर क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । लामो समयदेखि वर्षा हुन नसक्दा खडेरीको सामना गरिरहेको नरैनापुर क्षेत्र पुगेर मन्त्री अथकले सोमबार स्थलगत निरीक्षण गरेका हुन् ।
लामो समयदेखि पनि पानी नपरेपछि रोपेको धान बीउ सुकेर पराल भईसकेले नरैनापुरमा भोकमरीको त्रास बढेको सामाचार विभिन्न संचारमाध्यममा आएपछी बाँके क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्यसमेत रहेका मन्त्री अथकले त्यस प्रति चासो देखाएको बताए ।
निरीक्षणका क्रममा मन्त्री अथकले सुख्खा क्षेत्र रहेको नरैनापुरका किसानहरुका लागि राहत प्याकेजका सवालमा पहल गर्ने प्रतिबद्धता जनाए । नरैनापुरका किसानहरुलाई भोकमरीबाट जोगाउन तिनै तहका सरकारले विशेष ध्यान दिनुपर्ने बताउँदै मन्त्री अथकले समस्या समाधानका लागि केन्द्रीय स्तरबाटै पहल गर्ने प्रतिवद्धता जनाए ।
भदौको दोस्रो सातासम्म पनि पानी नपरेपछि नरैनापुरका किसानहरुको यो वर्षको खेतीको आश मारिसकेका छन् । अन्य क्षेत्रमा खेती लगाई सक्दासमेत आफूहरुले धान रोप्न नपाएको भन्दै नरैनापुरका किसानहरुले दुःख ब्यक्त गरेका छन् । पानी पर्ला र छिटो खेती गरौला भन्ने आसैआसमा बसेका कृषकहरुले तयार पारेको बीउसमेत सुकेर पराल बनेको छ । सिँचाइको सुबिधा नभएकाले आकासे पानीको भरमा बसेका नरैनापुरका किसानहरु पानी बिनाको माछा जस्तै बनेका छन् ।
नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहका अनुसार यो वर्ष नरैनापुरमा भोकमरी हुने संकेत देखिएको छ । कृषकहरुलाई भोकमरीबाट बचाउन केन्द्र सरकारकाबाट राहत उपलब्ध गराउन साहले मन्त्री अथकलाई आग्रह गरे । खडेरीबाट उत्पन्न हुनसक्ने परिस्थिति भयावह हुनसक्ने भन्दै अध्यक्ष शाहले केन्द्र र प्रदेश सरकारले राहत प्याकेज उपलब्ध गराउनुपर्ने बताए ।
नरैनापुरमा ३ हजार ९ सय ६६ हेक्टर जमिन रहेको छ । जसमध्ये १५ प्रतिशत जमिनमा मात्र रोपाई भएको र समयमै पानि नपर्दा रोपेको धान समेत सुकेको नरैनापुर कृषि शाखा प्रमुख सदन भण्डारीले जानकारी दिए । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालका अनुसार नरैनापुर बाहेक बाँके जिल्लामा ९९ प्रतिशत रोपाई भईसकेको र नरैनापुरमा पानी नपर्दा रोपाई हुन नसकेको हो ।
रोपाईको लागि तयार भएको बीउ सुकेर पराल भएको र पुनः बीउ राख्ने अवस्था नभएको कारण खेतीको आस मरीसकेको नरैनापुर ३ का किसान रामनरेश हरिजन बताए ।
सिक्टा सिँचाइ आयोजनाले नहर बनाउन ढिलो गरेकाले वर्षे बालीका लागि आकासे पानीको भर पर्नुपर्ने भन्दै हरीजन दुख ब्यक्त गरे ।

.