‘राजनीति भन्दा माथि उठनु पर्छ पत्रकारिता’
Thursday, September 1st, 2022, 6:30 pm
Kalpristha
सौरभ राना
नेपालगन्ज, १६ भदौं
खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले समय सापेक्ष कालपृष्ठ दैनिकले समाजका विविध विषय उठान गर्नमा ध्यान दिनु पर्ने बताएकी छिन् । कालपृष्ठ दैनिकले बिहिबार खजुरामा पाठकहरुसँग गरेको भेट्घाट कार्यक्रममा बोल्दैं उपाध्यक्ष मल्लले नागरिकलाई सकारात्मक खबरले सहिमा अगाडी बढन सहयोग गर्ने बताईन् । उनले राजनिति विषय भन्दा समाज विकासका अन्य विषयमा केन्द्रित हुन सुझाव दिईन ।
मल्लले भनिन, ‘कालपृष्ठ दैनिक २५ वर्ष प्रवेश गरेको छ । त्यसका लागि कालपृष्ठको सम्पुर्ण टिमलाई धन्यवाद दिन चाहन्छु । यति लामो यात्रा तय गर्नु पक्कै पनि चुनौतिपुर्ण छ । तर कालपृष्ठको विश्वसनीयता र समाचारकै कारणले हो यसलाई आम पाठकले मन पराउनु भएको छ । आगामी दिनमा राजनिति भन्दा शिक्षा, स्वास्थ्य, महिलाका विषयमा धेरै नयाँ कुरा प्रस्तुत गर्न म आग्रह गर्दछु ।’
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका अध्यक्ष भक्त बहादुर केसीले पत्रकारिता राजनीति भन्दा माथि उठनु पर्ने बताएका छन् ।
खजुराको पृथ्वी चोकमा भएको कार्यक्रममा बोल्दैं केसीले भने, ‘अहिलेको परिवेशमा पत्रिका भन्ने बित्तिकैं कुनै न कुनै पार्टीसँग नाम जोडिएर आउँछ । यसले निस्पक्ष पत्रकारिताको अभ्यास हुदैंन । पत्रकारिता राजनीति भन्दा माथि उठन सक्नु पर्छ । मिडियाले सबैंको भावना, विचार र चेतनालाई स्थान दिनु पर्छ ।’
कालपृष्ठ दैनिकसँगको आफनो सामिप्यताको कुरा गर्दै उनले भने, ‘जतिबेला खजुरामा रेडियो थिएन, इन्टरनेट थिएन । त्यतिबेला देखि बाहिरको समाचार प्राप्त गर्नको लागि कालपृष्ठ माध्यम बनेको हुन्थ्यो । आज पनि कालपृष्ठले त्यो जिम्मेवारी निर्वाह गरिरहेको छ । यसको व्यापकता हुनुको पछाडी लोकप्रियता नै हो । कालपृष्ठले पाठकको मन जितेको छ । खजुराका जनताको मन जितेको छ ।’
पत्रिकालाई रंगिन बनाउँदैं आगामी दिनमा गरिब जनताको रोजगारीसँग जोडिएका कुरा, उत्पादनसँग जोडिएका विषय, महिला, युवाले गरेका रचनात्मक कामहरुको बारेमा अझ धेरै विषय उठाउन गर्न अध्यक्ष केसीले सुझाव दिए ।
कालपृष्ठ दैनिकले आफना नयाँ ग्राहक योजनासँगै भेटघाट कार्यक्रम गरिरहेको छ । यसअघि नेपालगन्जको त्रिभुवन चौक, विपीमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
कालपृष्ठ दैनिकले खजुरामा गरेको कार्यक्रममा खजुरा खानेपानी, सरसफाई तथा उपभोक्ता समिति अध्यक्ष नोक बहादुर (अर्विन) गोदार, खजुरा व्याडमिन्टन क्लबका अध्यक्ष भक्त बहादुर गोदार, ज्ञानोदय माविका लेखा प्रमुख चन्द्र प्रकाश खड्का, सांग्रिला विकास बैंकका खजुरा शाखा प्रमुख कैलाश खड्का लगायतले कालपृष्ठ दैनिकलाई सुझाव दिएका थिए ।