ई–पुस्तकालयको अवधारणमा जाँदै महेन्द्र पुस्तकालय
Saturday, November 5th, 2022, 12:45 pm
Kalpristha
नेपालगन्जः नेपालगन्ज स्थित ऐतिहासिक महेन्द्र पुस्तकालय ई–पुस्तकालयको अवधारण तर्फ अघि बढ्ने भएको छ । पुस्तकालयमा गत भदौ २८ गते भएको अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले पुस्तकालयलाई अब ई–पुस्तकालयको मोडेलमा पनि अघि बढाउनेगरी कार्यक्रम तय गरेको हो ।
कार्यसमितिको शुक्रबार सम्पन्न बैठकले पुस्तकालयको चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रम पारित गर्दै ई–पुस्तकालय बनाउनका लागि बजेट विनियोजन गरेको छ । कुल २७ लाख पाँच हजार रुपैयाँको बजेट निर्धारण गर्दै कार्यसमितिले ई–पुस्तकालयका लागि दुई लाख रुपैयाँ बजेट छुट्याएको छ ।
अब पुस्कतकालयका आजीवन सदस्यहरुमध्येबाट ई–पुस्तकालय उपसमिति गठन गरी काम अघि बढाइने पुस्तकालयका अध्यक्ष वलराम यादवले जानकारी दिए । यसवर्ष ई–पुस्तकालयका लागि आवश्यक भौतिक स्रोतसाधन खरिद गर्ने र ई–पुस्तकालयको सुुरुवात गर्ने कार्यक्रम निर्धारण गरिएको उनले बताए । आफूहरुको कार्यकालमा महेन्द्र पुस्तकालय ई–पुस्तकालयको पूर्ण मोडेलमा गइसक्ने उनको दावी छ ।
यसका साथै पुस्तकालयमा केही हप्तामै वाचनालय सन्चालन गर्ने, पुस्तकहरु पाठकहरुले पढ्न पाउने व्यवस्था मिलाउने र सभाहल सन्चालन ल्याउने पनि उनले जानकारी दिए । पुस्तकालयबाट पुस्तक घरमा लिएर पढ्नेगरी नियमित पाठक बन्नका लागि सदस्य बन्न चाहनेहरुका लागि सदस्यता आवेदन पनि खुला गरिएको यादवले जानकारी दिएका छन् ।
पुस्तकालयको नियमित पाठक बन्न चाहनेहरुले दुई सय रुपैयाँ शुल्क तिरेर सदस्यता लिन सक्नेछन् । त्यस्ता सदस्यहरुले पुस्तकको मूल्यको केही प्रतिशत धरौटी राखेर पुस्तक फिर्ता गर्नेगरी घरमा लिएर अध्ययन गर्न पाउनेछन् ।
वि.सं. २००३ सालमा नेपालगञ्जमा प्रेम पुस्तकालयको नामबाट स्थापित भएको पुस्तकालय २०२४ सालमा महेन्द्र पुस्तकालयमा परिणत भएको थियो । २०५४ सालपछि नयाँ कार्यसमिति गठन नभै अस्तव्यस्त अवस्थामा रहेको महेन्द्र पुस्तकालयमा २०७८ चैत २९ गते तदर्थ समिति गठन भएको थियो ।
उक्त समितिले भदौ २८ गते अधिवेशन गराई निर्वाचित भएको कार्यसमितिले अहिले पुस्तकालयलाई पुनर्जीवन दिने प्रयास गरिरहेको जनाएको छ ।