नेपालगन्ज म्याराथनको पुरस्कार राशी बढ्यो
Thursday, November 17th, 2022, 7:49 pm
Kalpristha
नेपालगन्ज : आगामी मंसिर २४ गते हुन लागेको आठौं धारा नेपालगन्ज म्याराथनको पुरस्कार राशीमा वृद्धि गरिएको छ ।
नेपालगन्जमा हुने म्याराथनको विजेताले एक लाख पचास हजार पाउनेछ । आयोजक क्रियटिभ ह्याण्ड्सका अनुसार शीर्ष आठ धावकलाई नगदबाट पुरस्कृत गर्ने क्रममा म्याराथन (४२.१९५किमी) तर्फ दोस्रोलाई ६० हजार, तेस्रोलाई ३० हजार, चौथोलाई १५ हजार, पाँचौंलाई १० हजार, छैटौंलाई ८ हजार, सातौंलाई ७ हजार र आठौंलाई ६ हजार नगद, पदक र प्रमाणपत्रले कदर गरिने छ ।
त्यसैगरी महिला हाफ म्याराथनतर्फ प्रथमलाई ६० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई १५ हजार, चौथोलाई १० हजार, पाँचौंलाई ८ हजार, छैटौंलाई ७ हजार, सातौंलाई ६ हजार र आठौंलाई ५ हजार नगद, पदक र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।
पुरुष १० किमी खुलातर्फ प्रथमलाई ३० हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार तथा महिला ५ किमी खुलातर्फ प्रथमलाई २० हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई ७ हजार प्रदान गरिनेछ ।
विद्यालयस्तरीय ५ किलोमिटर छात्र दौडमा प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजार एवं ३ किमी छात्रातर्फ प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजारले पुरस्कृत गरिनेछ । ह्वीलचेयरमा शीर्ष तीन जनालाई १०हजार, ७ हजार र ५ हजार नगदले पुरस्कृत गरिनेछ ।
कर्पोरेट रनतर्फका विजेतालाई पोखरा अन्तर्राष्ट्रिय म्याराथनको रन फर फनमा सहभागी गराइनेछ । त्यसमा हवाई टिकटसहित दुई दिनको आवास तथा भोजनको व्यवस्थापन नेपालगञ्ज म्याराथनले प्रदान गर्नेछ । किड्स रन तथा वाकाथनतर्फ गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । हरेक बर्ष मंसिरको पहिलो शनिवार आयोजना हुँदै आएको नेपालगञ्ज म्याराथन आमनिर्वाचनका कारण तीन साता पछाडि सारिएको हो ।
नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिरको पहिलो शनिबार हुँदै आएको थियो ।
नेपालगञ्ज उपमहानगरपालिका अगाडि सुरु समापन गेट रहने आठौं नेपालगञ्ज म्याराथन जानकी गाउँपालिकाको केही स्थान छुँदै कोहलपुर नगरपालिकादेखि उत्तरतर्फ बानियाभारसम्म पुगेर पुन सोही रुटमा फर्किएर बीपी चोकस्थित फिनिसिङ प्वाइन्टमा सम्पन्न हुनेछ ।
लामो दुरीका धावकलाई उत्साह थप्न सम्पुर्ण जिल्लावासीलाई आआफ्नो तहबाट सहभागिता जनाउन आग्रह गरिएको छ । सहभागिता एवं सक्रियताका आधारमा व्यक्ति एवं संघसंस्थालाई सरप्राइज पुरस्कार तथा सम्मानपत्र प्रदान गरिने आयोजकले बिहिबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ ।