मतदान केन्द्र जादैं गरेको जिप दुर्घटना हुदा ६ जना घाईते
Thursday, November 17th, 2022, 8:50 pm
Kalpristha
जुम्ला : जुम्लामा भएको जिप दुर्घटनामा निर्वाचन मतदान अधिकृत सहित ६ जना घाईते भएका छन् । बिहिबार मतदान केन्द्र तर्फ मतदान सामाग्री लिएर जान लागेको भे १ च २१८८ नम्बरको जिप दुर्घटना हुन पुगेको थियो । जुम्लाको सदरमुकाम खलंगादेखि तातोपानी गाउँपालिका–८ मा रहेको जनजागृती माध्यमिक विद्यालय मतदान केन्द्र ताम्ती जाँदै गरेको जिप दुर्घटना भएको थियो ।
बिहीबार दिउँसो साढे २ बजे तिला गाउँपालिका–४ रावतबाडामा अनियन्त्रित भई दुर्घटनामा परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार जिप सडकदेखि करिब २० मिटर तल खसेको छ ।
दुर्घटनामा मतदान केन्द्रमा खटिएका मतदान अधिकृत हरिप्रसाद देवकोटा, सहायक मतदान अधिकृत आदीप्रसाद न्यौपाने, नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक सीताराम दराई, सहायक हवलदार सुरज चन्द, प्रहरी जवान राजेन्द्र विष्ट र कार्यालय सहयोगी अंगराज गिरी घाइते भएका छन् ।
घाइतेमध्ये कार्यालय सहयोगी अंगराज गिरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ । जिप चालक सुरेश कार्कीलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।